कांग्रेस सभापति शेरबहादुर देउवा शुक्रबार कोशी प्रदेश आउँदै, इटहरीमा बस्ने (केके छन् कार्यक्रम ?)

विहीबार, २० मंसिर २०८१
इटहरी : कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार कोशी प्रदेश आउने भएका छन् । शनिबार कांग्रेस कोशी प्रदेशको पहिलो सम्मेलन उद्घाटन गर्नका निम्ति शुक्रबार देउवा आउन लागेका हुन् । कांग्रेस कोशीका सभापति तथा पूर्व मुख्यमन्त्री उद्धव थापाका अनुसार भोलि (शुक्रबार) देउवा साढे १० बजेको बुद्ध एयरबाट विराटनगर आउनेछन् । त्यसपछि उनी धरान जानेछन् । धरानमा गिरिराज आचार्यद्धारा लिखित ‘बीपीका साहित्यिक विचारहरू’ नामक पुस्तक विमोचन गर्ने कार्यक्रम रहेको सभापति थापाले जानकारी दिए । पुस्तक विमोचनपछि देउवा धरानमै कांग्रेस कार्यकर्ताहरूसँग भेटघाट गर्नेछन् । साँझ सभापति देउवा इटहरीमा बस्ने कार्यक्रम तय भएको छ । उनी सोल्टी वेस्टेन्ड होटलमा बस्ने तयारी रहेको छ । यसैगरी शनिबार बिहान ९ बजे विराटनगरस्थित मनास्लु पार्टी प्यालेसमा कार्यकर्तासँग भेटघाट गर्ने र ११ बजे प्रदेश सम्मेलनको उद्घाटन गर्ने तयारी रहेको थापाले जानकारी दिए । ‘पार्टी सभापतिसहित पदाधिकारीहरू पनि सहभागी हुने तयारी छ,’ थापाले भने, ‘हामीले सबै तयारी सकेका छौँ ।’ सम्मेलनमा पार्टी सभापति देउवासहित उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, कोषाध्यक्ष उमेश श्रेष्ठ, प्रवक्ता प्रकाशसरण महत, नेताहरू विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौलासहित कोशी प्रदेशबाट केन्द्रीय सदस्य रहेका सबै नेताहरू सहभागी हुनेछन् । शनिबार सम्मेलनको उद्घाटन गरी देउवा सोही दिन ३ बजेको बुद्ध एयरबाट काठमाडौँ फर्किने तयारी भएको थापाले जानकारी दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार