इटहरी : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बढी बोल्ने मानिसले आफूलाई नै सिध्याउने बताएका छन् ।
शनिबार कांग्रेस कोशीको पहिलो सम्मेलन उद्घाटन गर्दै देउवाले डा. शेखर कोइरालालाई लक्षित गर्दै भने भने, ‘बढी बोल्नेले आफूलाई सिध्याउँछ । भोलिका दिनमा सबैले यहाँका कुराहरूलाई मनन गर्नुपर्ने अवस्था छ ।’
डा. कोइरालाले केही दिनअघि विराटनगरमा पालिका सभापतिहरूको भेला भन्दै आफ्नो गुटका नेता तथा कार्यकर्तालाई भेला पारेका थिए । तर, उक्त कार्यक्रमले पार्टी नेतृत्वालाई कुनै प्रभाव नपरेको देउवाले जिकिर गरे ।
उनले सबैलाई कांग्रेस बलियो बनाउन पनि आह्वान गरे । स्थानीय तहदेखि ग्रासरूटसम्मलाई हामीले महत्व दिनुप¥यो ।
उनले अहिलेको सरकार ०८४ को निर्वाचन सम्मै जानेसमेत बताए । प्रधानमन्त्री केपी शर्मा ओली र आफूले प्रजातन्त्रको स्थायित्वको लागि लडेको समय बताए । देउवाले भने, ‘गठबन्धन पूरा समय जान्छ । किन झुट बोल्ने ?’
कार्यक्रममा उपसभापति पूर्णबहादुर खड्काले चुनौतीको सामना गर्दै पार्टीलाई चलायमान बनाउनुपर्ने बताए । उनले डा. कोइरालाप्रति लक्षित गर्दै भने, ‘बोल्ने ठाउँमा नबोल्ने तर चौतारामा गर्ने कुरा कतिको जायज हो ?’
भर्खरै भएको उपनिर्वाचनमा कांग्रेसको नतिजा निराशाजनक नरहेको उनले बताए । खड्काले आगामी माघदेखि पार्टीको प्रशिक्षण हुनेसमेत बताए ।
महामन्त्री गगन थापाले पछिल्लो समय आम मानिसमा निराशा बढेको बताए । ‘हामीले सबै कर्महरू गरेर आउँदा पनि मानिसहरू किन सन्तुष्ट छैनन्?,’ उनले भने, ‘मानिसहरूले निराशाको व्यापार गरे । निराशा भन्दै गर्दा हामी कतै बढी पो बुझिरहेका छौँ कि ?’
उनले कांग्रेस पार्टीलाई सुदृढ बनाएर चलायमान बनाउन पनि आवश्यक रहेको बताए । ‘कांग्रेस माटो र मानिससँग जोडिएको छ,’ उनी भन्छन्, ‘कांग्रेस सरकारमा सहभागी भएपछि धेरै काम भएको छ ।’
डा. शेखर कोइरालाले संविधान संशोधनको कुरा कता पुग्यो भनेर यसअघि प्रश्न गरेको भएपनि जवाफ दिदैँ महामन्त्री थापाले संविधान संशोधनको विषयमा छलफल भइरहेको बताए ।
केही दिनअघि डा. कोइरालाको नेतृत्वमा विराटनगरमा पालिका सभापतिहरूको भेला आयोजना भएको थियो । उक्त भेलाको स्मरण गर्दै थापाले भने, ‘पालिका सभापतिको भेला गर्न पाइदैँन भन्ने होइन । कसरी गर्ने भन्ने कुर हेक्का राखौँ ।’
सह–महामन्त्री भीष्मराज आङ्देम्वे भने कार्यक्रममा भावुक भए । उनले पछिल्लो समय विरोध मात्रै गर्ने प्रचलन आएकोमा पनि असन्तुष्टि जनाए ।
उनले भने, ‘हाम्रो इतिहासले अरूलाई विरासत दिएको छैन । कोइराला निवास र चाक्सीबारीलाई दिएको छ । त्यसलाई त्यही ढङ्गबाट राख्नका लागि त्यसको ओनरसिप लिन्छु भन्ने नेताहरूले आफूलाई त्यही ढङ्गबाट प्रस्तुत गर्नुपर्छ । यो कुरालाई बुझिकन अगाडि बढ्यौँ भने राम्रो हुन्छ होला जस्तो लाग्छ ।’
उनले कांग्रेसले पहिचानको मुद्धामा पनि अग्रसरता लिनुपर्ने जिकिर गरे ।
सह–महामन्त्री – महेन्द्र कुमार यादवले कोशी प्रदेशमा मधेस समुदायका मानिसलाई पार्टीमा ठाउँ नदिइएको बताए । ‘विना समावेशी ठूलो पार्टी बन्न सक्छ ? कोशीमा मधेसीलाई मनोनित गरेर भएपनि राख्नुहोस्,’ उनले भने ।
कोषाध्यक्ष उमेश श्रेष्ठले पार्टीभित्र भएका समस्याको निराकरणको माध्यम भनेको संवाद नै रहेको बताए । खासगरी कांग्रेसले शिक्षा र रोजगारीको नीति जनताको आवश्यकअनुसार गर्ने बताए ।
पूर्व उपसभापति विजय कुमार गच्छदारले कांग्रेस र एमालेको सरकारलाई एउटा सकारात्मक विन्दुमा पुर्याउन आवश्यक रहेको बताए ।
कांग्रेसभित्र एकता हुन नसकेकाले देशको अवस्था पनि अस्थिर बनेको जिकिर गरे ।
नेता कृष्ण सिटौलाले संविधानले दिएको अधिकारबारे तीनै तहको सरकारले जनतामा परिवर्तन आयो कि आएन भन्नेबारे चिन्तन गर्नुपर्ने बताए ।
उनले शेखर कोइरालाप्रति लक्षित गर्दै भने, ‘मेरा साथी शेखर जी यहीँ बसेर कुरा गर्नु भएको भए हुन्थ्यो । कुरा के हो ? केन्द्रीय समितिमा राखे पनि हुन्थ्यो । अब यही विषयलाई दिएर धेरै उतार चढाव नगरौँ । सम्पूर्ण पार्टीका साथीहरूबिच एकता गरेर अगाडि बढौँ ।’
नेता सशांक कोइरालाले कांग्रेस पार्टी बीपीकै सिद्धान्तअनुसार सञ्चालन हुनुपर्नेमा जोड दिए । ‘कांग्रेसलाई बीपी कोइरालाकोजस्तो पार्टी बनाउन जरूरी छ । हामी कता जाँदैछौं ?’ उनले भने ।
प्रवक्ता डा. प्रकाश शरण महतले कांग्रेस एक भएमा गठबन्धनको आवश्यकता नै नपर्ने बताए । उनले भने, ‘आफू पनि एक नहुने अनि अरूसँग पनि गठबन्धन नगर्ने भए हालत के हुन्छ ?’
केन्द्रीय सदस्य अमृत अर्यालले कांग्रेसभित्र एक रातमा गुट परिवर्तन हुँदा समस्या भएको बताए । ‘धेरै अनुभव हामीले पनि भोगेका छौ । एक रातमा गुट परिवर्तन हुन्छ । यो चिन्ताको विषय हो,’ उनले भने ।
प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पार्टी सञ्चालनमा अनुशासन पालना नभएको जिकिर गरे । ‘विधान पालना भएन कि भन्ने कुरा छ । कांग्रेसले किन राम्रो काम गरेन ? गरेको काम बारे किन भन्न सकेनौं भन्ने प्रश्न छ,’ उनले भने ।
कार्यक्रममा केन्द्रीय सदस्यहरू ज्ञानेन्द्र कार्की रमेशजंग रायमाझी, राजीव कोइराला, राजीव ढुंगाना, कल्पना चौधरी, सीता गुरुङ, तारामान गुरुङलगायतले बोलेका थिए ।
प्रतिक्रिया