धरानमा आइतबारदेखि सांस्कृतिक महोत्सव हुँदै

विहीबार, ०४ पुस २०८१
धरान : धरान उपमहानगरपालिकामा आगामी आइतबारदेखि सांस्कृतिक महोत्सव हुने भएको छ । “गीत, संगीत र मनोरञ्जन, धरानको समृद्धिका लागि पर्यटन प्रवर्द्धन’ भन्ने सन्देशका साथ सांस्कृतिक महोत्सव हुन लागेको बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिइयो । धरान १५ स्थित बगरकोटको एभरेष्ट लाइनमा यही पुस ७ गते आइतबारदेखि १७ गतेसम्म धरान संगीत जात्रा सांस्कृतिक महोत्सव आयोजना हुने आयोजकले जनाएको छ । नेचर क्लव धरान, निशान त्रिभ्याली विकास संस्था धरान १५ को आयोजना र त्रिवेणी महिला समूह धरान १५ सह–आयोजक रहेको महोत्सवका संयोजक तथा सल्लाहकार दिपचन्द्र राईले बताए । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहन उनले बताए । मौलिक र जातीय भेषभूषासहितको सांस्कृतिक कार्यक्रम, नृत्य प्रस्तुति, जातीय परिकारसहितको अग्र्यानिक खाद्यान्नलगायत स्थानीय उत्पादनहरुलाई प्राथमिकता दिइने संयोजक राईले बताए । महोत्सवमा ५० वटा स्टलहरू रहनेछन् । महोत्सवमा कानुन विपरीतको कुनै पनि कार्य नगर्ने नगर्ने संयोजक राईको दाबी छ । महोत्सवलाई आकर्षक र मनोरञ्जनात्मक बनाउन रोटेपिङ, ड्रयागन, ब्रेक डान्स, डुङ्गा सयर, मिकिमाउमलगायतका खेल सामग्रीहरूको व्यवस्था रहेको आयोजकले जनाएको छ । महोत्सवमा चर्चित गायक सविन राई, ज्योती मगर, आस्था राउत, एकदेव लिम्बू, द एलिमेन्ट, समीर श्रेष्ठ, ट्राइबररेन (सिक्किम), अनमोल गुरुङ (कालिम्पोङ), रकहेड्स, अस्मिता अधिकारी, प्रजिना लामिछाने, वर्षा आचार्यको प्रस्तुति रहनेछ । साथै, स्थानीय व्यान्डहरू सुरज एण्ड ट्रियो, आरोही, बदमास एण्ड ब्याण्ड, द क्राइसिस, उर्जा व्याण्ड, लामोज व्याण्ड, द फ्लो नेपाल लगायतको प्रस्तुति रहने आयोजकले जनाएको छ । महोत्सवमा अनुमानित ८० लाख खर्च हुने अनुमान गरिएको छ । उक्त महोत्सवले गीत, संगीतको माध्यमबाट मनोरञ्जन प्रदान गर्ने र धरानमा आगन्तुकहरू भित्रिने धरान १५ का वडाध्यक्ष नरेश ईवारमले बताए ।

प्रतिक्रिया

निशा राई
लेखकको बारेमा
निशा राई

सम्बन्धित समाचार