एसियाली राष्ट्र कतारमा जारी फिफा विश्वकपमा आज (बिहीबार) पनि समूह ‘ई’ र ‘एफ’ का समान दुई खेलमा प्रतिस्पर्धा हुँदैछ ।
समूह ‘एफ’ अन्तगत आज क्यानडा र मोरक्को तथा क्रोएसिया र बेल्जियमबीच प्रतिस्पर्धा हुनेछ । दुवै खेल राति ८ः४५ बजे हुनेछ । यो समूहबाट क्यानडा बाहिरिसक्दा बाँकी तीन टोलीको अघिल्लो चरण पुग्ने सम्भावना छ ।
यो दुवै खेल बराबरीमा सकिएमा क्रोएसिया र मोरक्को नकआउट चरणमा पुग्नेछ । बेल्जियमलाई जित बाहेकको विकल्प छैन ।विश्वकपबाट बाहिरिसकेको क्यानडालाई हराउँदै मोरक्को अघिल्लो चरणमा पुग्ने दाउँमा हुनेछ । मोरक्को र बेल्जियम विजयी हुँदा अघिल्लो संस्करणको उपविजेता क्रोएसिया समूह चरणबाटै बाहिरिने छ ।
क्रोएसियालाई बराबरीको नतिजा पर्याप्त रहेपनि टोली जित निकाल्दै अघिल्लो चरणमा आफ्नो स्थान पक्का गर्न चहान्छ । बराबरीको नतिजा समूह चरणबाट बाहिरिने भएकाले बेल्जियम निश्चित जितको लागि खेल्नेछ । यता, विश्वकपबाट बाहिरिसकेको क्यानडा मोरक्कोलाई हराएर सान्त्वना जित निकाल्न चहान्छ ।
समूह ‘ई’ अन्तरगत आज कोस्टा रिका र जर्मनी तथा जापान र स्पेनबीच प्रतिस्पर्धा हुँदैछ । यि दुवै खेल राति १२ः४५ बजे हुनेछ । यो समूहमा सबै चार टोलीको नकआउट चरण पुग्ने सम्भावना छ ।
यो दुवै खेल बराबरीमा सकिएमा स्पेन र जापान नकआउट चरणमा पुग्नेछ । स्पेनलाई बराबरी नै अन्तिम १६ मा पुग्न पर्याप्त हुनेछ । जर्मनीलाई अघिल्लो चरण पुग्न जित बाहेकको विकल्प छैन ।
हालसम्म १० टोली नकआउट चरणमा पुगिसकेको छ । समूह ‘ए’ बाट नेदरल्यान्ड्स र सेनेगल, समूह ‘बी’ बाट इंग्ल्यान्ड र अमेरिका, समूह ‘सी’ बाट अर्जेन्टिना र पोल्यान्ड र समूह ‘डी’ बाट फ्रान्स र अष्ट्रेलिया अन्तिम १६ मा पुगेका छन् । ब्राजिल र पोर्चुगल पनि एक खेल अगावै प्रि–क्वाटरफाइनलमन पुगिसकेका छन् ।
प्रतिक्रिया