इलाम : विक्रम संवतमा नेपालीहरूले नयाँ वर्ष हरेक वैशाख एक गतेलाई मनाइन्छ ।
सन् २०२४ को अन्त्यमा पनि नयाँ वर्ष मनाइन्छ । तर, यो सँगै नेपालमा रहेका विभिन्न आदिवासी जनजातीहरूले यो बीचमासमेत वर्ष फेरिएको खुसीयाली मनाउँदै आएका छन् । हरेक वर्षको पुस १५ गते तमु ल्होसार मनाइने गरिन्छ ।
यो ल्होसारसँगै तमु गुरुङ समुदायले नयाँ वर्षको रूपमा समेत मनाइने गरिएको हो । हरेक वर्षको पुस १५ गतेलाई गुरुङ समुदायले तमु ल्होसारसँगै नयाँ वर्षका रूपमा समेत बनाउने गरेको पाइन्छ ।
गुरुङ समुदायले तमु ल्होसार, नयाँ वर्षसँगै उत्पादन गरेको नयाँ अन्नलाई सामूहिक रूपमा न्वागी चखाउने पर्वका रूपमा समेत मनाउने गरेको गुरुङ समुदायका अगुवाहरूको भनाई छ ।
कुनै तिथि र बारले यो नयाँ वर्षलाई असर पुर्याउँदैन । हरेक पुस १५ मा नै नयाँ वर्ष मनाउने प्रचलन रहेको गुरुङ समुदायका अगुवा हरि गुरुङले बताए । उनकाअनुसार वर्षको नाम समेत वर्ग छुट्याएर जनावरको नामबाट राख्ने गरिएको छ ।
आज पुस १५ गतेबाट गुरुङ समुदायले सर्प (सर्पिलो) वर्षलाई स्वागत गर्ने हरि गुरुङले बताए । गुरुङ वर्षलाई बिदाइ गर्दै तमु गुरुङ समुदायका किशोर किशोरीदेखि बालबच्चा र वृद्ध वृद्धाहरूले यो चार्ड हर्ष उल्लासका साथ मनाउने गरेको उनको भनाइ छ । तमु ल्होसार गुरुङ समुदायको बसोबास रहेको स्थानमा मनाइने गरिन्छ ।
नेपालमा ग्याल्बो ल्होसार र सोनाम ल्होसारसमेत मनाइने गरिन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार तामाङ समुदाय र शेर्पा जातीले ग्याल्बो ल्होसार मनाउने प्रचलन रहेको छ ।
मुसा, गाई, बाघ, बिरालो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिएकाले प्रकृति पूजक रहेको अनुसन्धाताहरूको भनाइ छ । गुरुङ समुदायको प्रमुख सांस्कृतिक पर्वका रूपमा यस ल्होसार अर्थात् नयाँ वर्षलाई लिने गरेको सो समुदायका अगुवाहरूको भनाइ छ ।
तमु जातीहरूको परम्परा धर्म संस्कार र संस्कृतिको क्षेत्रमा, आर्थिक उन्नति एवम् प्रगतिको रूपमा यस पर्वलाई लिइने गरिएको छ ।
बाह्र वटा जीवहरूको नामबाट परिचित महान् पर्व तमु ल्होसार च्यु ल्हो, ल्वोँ ल्हो, तो ल्हो, ह्यि ल्हो, मुप्रि ल्हो, सप्री ल्हो, त ल्हो, ल्हु ल्हो, प्र ल्हो, च्या ल्हो, खि ल्हो, फो ल्हो विभिन्न रूपमा यसलाई मनाइने गरिन्छ ।
ल्होसार आदिम कालदेखि तमु जातिको जैविक, सामाजिक, सांस्कृतिक तथा परम्पराबाट निरन्तरता दिँदै आएको मुख्य पर्वका रूपमा समेत लिइने गरिएको छ ।
सबैभन्दा पहिले तमु जातिको ल्होसार पर्व नस्लको हिसाबले आदिम साम्यवादी मातृ सन्तात्मक युग देखि सूर्यलाई आधार मानी पृथ्वीले सूर्यलाई परिक्रमा गर्ने क्रममा र पृथ्वीको उत्तरी ध्रुवतिर सूर्य नजिक पर्न जाने भएकाले कहिले दक्षिण ध्रुव तिर सूर्य नजिक पर्न जाने हुनाले ६–६ महिना पुस १५ र असार १५ मा समय परिवर्तन हुन्छ भनेर आदिम कालमा तमु जातिहरूको गुरुहरूले निर्धारण गरेको बताइन्छ ।
सबैभन्दा पहिले आदिम युगमा लामो रात हुने झन् पुस १४ का राती बन जङ्गलमा रहेका चरा पनि मध्ये रातमा भोकले मुर्छा पर्छ भन्ने कथन छ ।
प्राकृतिक एवम् तम संस्कार अनुसार पुस १५ लाई नै आधार मानी तमु जातीहरूले आफ्नो ल्होसार पर्व निर्धारण गरी राखेको सो समुदायका अगुवाहरूको भनाइ छ ।
तमु भाषामा वर्ग भनेको वर्ष हो । तमु जातिको साधारण भाषामा ल्हो भनेको वर्ग हो र सार भनेको नयाँ भन्ने परम्परा अनुसार नै प्रत्येक पुस १५ लाई नयाँ ल्होसार भनेर मनाउँदै आएको बताइएको छ ।
पुस १४ गतेलाई गएको ल्होलाई बिदाइ र पुस १५ लाई नयाँ ल्होको आगमनको स्वागत गर्दै निधारमा सेतो टीका लगाई शुभकामना आदान प्रदान गर्ने प्रचलन समेत छ ।
तमु जातीहरूको एक वर्षमा एउटा ल्हो को पुरा हुने भन्ने परम्परा रहेको पाइन्छ । प्रत्येक १२।१२ वर्षहरूमा आउने आआफ्नो ल्हो र त्यो ल्हो फेर्न एक वर्ग लाग्छ । त्यसलाई नै तमु भाषामा ल्होकोर भन्ने परम्परा छ । तमु जातिहरूले मनाउँदै आएको ल्हो १२ वटा जीवहरूको नामबाट नामकरण गरिएको हुन्छ ।
उल्लासका साथ मनाइँदै
गुरुङ समुदायले मनाउने तमु ल्होसारको अवसरमा इलाममा बालबालिकाको नृत्य प्रतियोगिता, खेलकुद प्रतियोगिता, लगायतका कार्यक्रमहरू हुने भएको छ ।
इलाम नगरपालिका ६ मा निर्माणाधीन न्हूपी छोलिङ गुम्बामा कार्यक्रम हुने आयोजक समितिका हरि गुरुङले जानकारी दिए । इलाम गुरुङ समाजले ल्होसारको अवसरमा पुस १४ र १५ गते खानाका परिकारसमेत प्रदर्शन गर्ने भएको छ ।
भेडाको मासु, ढिँडो, नारेपालगायतका परिकार आफ्ना समुदाय र पाहुनाहरूलाई चखाउने प्रचलन रहेको बताइएको छ । नयाँ उत्पादन गरेको अन्नबाट निर्माण गरिएका परिकारसँगै सो समुदायबाट उत्पादन गरिएका वस्तुहरू समेत चखाउने गरिएको छ ।
यसैगरी पुस १४ गते इलाम चियाबारीमा ल्होसार खुल्ला कविता वाचन प्रतियोगिता भएको छ । साथै इलाम १५ मा नै घलेटार मदानमा छेलो हान्ने प्रतियोगिता समेत राखिएको छ ।
पुस १५ गते गुम्बामा लामा गुरुहरुद्धारा पूजा पाठ र बालबालिकाहरूका लागि नृत्य प्रतियोगिता सञ्चालन गरिने भएको मूल आयोजक समितिकी अध्यक्ष पविमाया गुरुङले जानकारी दिइन् । गुरुङ समुदायले अन्न फलाएपछि सामूहिक रूपमा खाना खुवाउने कार्यक्रम परापूर्व कालदेखि नै गर्दै आएको भन्दै गुरुङ परिकारसमेत राखिने समितिका सचिव उमेश गुरुङले बताए ।
प्रतिक्रिया
लेखकको बारेमा
टीका खतिवडा
इलामबाट पत्रकारिता गर्ने खतिवडा, प्रदेश खबरका लागि समेत कलम चलाउँछन् ।
प्रतिक्रिया