काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले इलेक्ट्रिकल इन्जिनियरहरूको लागी विद्युत् प्राधिकरणलाई हब बनाउने बताएका छन् ।
आइतबार पुलचोक इन्जिनियरिङ क्याम्पसमा भएको प्रयोगशाला उद्घाटन समारोहमा बोल्दै उनले विद्युत् प्राधिकरणमा इलेक्ट्रिकल इन्जिनियरको अभाव भएको भन्दै हालसम्म इन्टर्नसिपका विद्यार्थीहरूले प्राधिकरण चलाएको बताएका हुन् ।
उनले भने, ‘हाम्रो टेस्टिङ ट्रासफरहरु र वर्कसपहरू प्राय इन्टर्नसिपका विद्यार्थीले नै चलाएका छन् ।
करिब १२-१५ सय जनाहरू इन्टर्नसिप हरेक लटमा चलिनै रहेको हुन्छ । इलेक्ट्रिकल इन्जिनियरहरूको लागि ६०-७० सिट लोकसेवा मार्फत विज्ञापन निकालेको छौँ । विद्युत् प्राधिकरणमा इलेक्ट्रिकल इन्जिनियरहरूको अभाव छ । इलेक्ट्रिकल इन्जिनियरहरूको लागि विद्युत् प्राधिकरण एउटा ठुलो हब बन्छ, बनाउनुपर्छ ।’
उनले विद्युत् प्राधिकरणले विभिन्न ठाउँमा वर्कसप, ट्रान्सफर्मर वर्कसप, टेस्टिङ ल्याबहरू स्थापना गरेको बताए । उनले स्थापना भएका ल्याबहरू अहिले अप्रेसनमा रहेको बताए ।
उनले भने, ‘विद्युत् प्राधिकरणले प्रदेश-प्रदेशमा नेपालगन्ज, बुटवल, विराटनगर,हेटौँडा काठमाडौँ लगायतका ठाउँहरूमा हाम्रो वर्कसप, ट्रान्सफर्मर वर्कसप, टेस्टिङ ल्याबहरू हाइ भोल्टिङ टेस्टिङ ३३के. बी सम्मको टेस्टिङ ल्याबहरूको स्थापना गरेर अहिले अप्रेसनमा छन् । विद्युत् प्राधिकरणले इन्टनसिपको लागि सबैको लागि हुने गरी, इलेक्ट्रिकल इन्जिनियरहरू र इलेक्ट्रिकल सम्बन्धी तीन तह चार तहका जति पनि आउँछन् । इन्टर्नसिप खोलेका छौँ । खाजा भत्ता दिएर खोलेका छौ ।’
प्रतिक्रिया