पुस्तक मेलाबाट उत्साहित व्यवसायी भन्छन् : ‘अपेक्षा गरेभन्दा राम्रो भयो’

आइतबार, २१ पुस २०८१
प्रमिला कार्की/काठमाडौँ : दोस्रो अन्तर्राष्ट्रिय दक्षिण एसियाली पुस्तक मेला‘साउथ एसिया ‘इन्टरनेसनल बुक फेयर २०२५’को समापन भएको छ । गत बुधबारदेखि नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टरको संयुक्त आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको पुस्तक मेला आज(आइतबार) सम्पन्न भएको हो । भारत चीनलगायत १० वटा देशले सहभागी जनाएको साउथ एसिया इन्टरनेशनल बुक फेयरमा दुई लाख ५० हजारले अवलोकन गरेको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका पूर्वअध्यक्ष तथा सल्लाहकार सभापति नवनिधि पन्तले जानकारी दिए । उनले भने, ‘पुस्तक मेला समग्रमा राम्रो भयो । गत वर्षदेखि यो ‘साउथ एसिया ‘इन्टरनेशनल बुक फेयर भनेर विश्वका धेरै राष्ट्रहरूलाई समेट्नेगरी आयोजना गरेका हौं । यस वर्षपनि भारत–चीन लगायत १० देशका प्रतिनिधिहरु सहभागी हुनुभयो । मेला भव्य रुपमा सम्पन्न भएको छ । करिब दुई लाख ५० हजारले यहाँ अवलोकन गर्नुभएको छ ।’ मेलामा पाठकहरूले बढी मात्रामा रुचाएको पुस्तक साहित्य र राजनीति क्षेत्रका भएकाले त्यसमै व्यापार बढी भएको उनले जानकारी दिए । साथै उनले गत वर्ष भन्दा यसपाली मेलाको व्यापार धेरै राम्रो भएको र आफूहरूले अपेक्षा गरेअनुसार नै रहेको बताए । ‘पाठकहरूले बढि मन पराएको भनेको बजारमा चर्चामा आएका पुस्तकहरू नै हुन् । कसैले अनुसन्धानका पुस्तकहरू खोज्नुहुन्छ । त्यसमा पनि साहित्य र राजनीति क्षेत्रका पुस्तकहरू बढि मात्रामा यहाँ खोज्न आउनुभएको थियो । व्यापारको हिसाबले पनि पहिलाको वर्षभन्दा यो वर्ष केही सुधार छ । गत वर्षहरूभन्दा त व्यापार धेरै राम्रो भएको छ । अपेक्षा गरेअनुसार नै भएको छ,’ उनले भने । त्यस्तै, अर्का आयोजक पुरुषोत्तम दाहालले मेलामा उपस्थिति उत्साहजनक रहेको भन्दै आफूहरूले अपेक्षा गरेको भन्दापनि राम्रो भएको बताए । उनले भने, ‘व्यवसायको कुरा गर्दा राम्रो भयो । धेरै किताबहरू बिक्री भएको छ । यस्ता उपन्यास बाल साहित्यका किताबहरू अरू विविध विधाका किताबहरू छन् । स्कुलका पाठ्यक्रमका किताबहरू पनि छन् । यहाँको उपस्थिति पनि एकदमै राम्रो र उत्साहजनक छ । हामी एकदमै उत्साहित छौं । अपेक्षा गरेको भन्दा पनि धेरै नै राम्रो भएको छ ।’ नेपालमा किताब मेलाको अभ्यासहरू धेरै नभएका कारणले पनि मेलामा उल्लेखनीय उपस्थिति रहेको उनको भनाइ छ । उनले भने, ‘किताब मेला नेपालमा नौलो पनि हो । खासै यस्तो खालको अभ्यास भएको छैन । त्यसैले दोस्रो संशकरणमा उल्लेखनीय उपस्थिति छ । धेरै नै उत्साहित छौं ।’ त्यस्तै ऐरावती प्रकाशन प्रालिका प्रवन्ध निर्देशक आनन्द तिवारीले भने विगतको वर्षमा भन्दा उपस्थिति पातलो भएको कारण सोचे अनुरूपको व्यापार गर्न नसकेको गुनासो गरे । आफ्ना उत्पादनहरुलाइ बजारमा चिनाउने उद्देश्यले उपस्थिति भएको कारण व्यापार सोचे अनुसार नभएपनि केही हदसम्म उत्पादन चिनाउन पाउँदा अपेक्षा पूरा भएको बताए । उनले भने, ‘मेलामा कथा, उपन्यासहरुबढी खोजी भएको छ । विगतको वर्षमा भन्दा उपस्थिति अलि पातलो भएको जस्तो महशुस गरेका छौं । त्यसैले व्यापारचाँहीसोचे अनुरुपको भएको छैन । व्यापार भन्दा पनि आफ्ना उत्पादनहरूलाई बजारमा चिनाउने काम भएको छ ।’ त्यस्तै, आयोजकले मेलाको बारेमा प्रचार प्रसारलाई तीव्र नगर्दा उपस्थिति पातलो भएको गुनासो गरे । यस्तै ग्राहक विमल ज्ञवालीले आफूले पुस्तक किन्दा ३५ प्रतिशतसम्म छुट पाएको भन्दै बाहिर भन्दा मेलामा एकदमै सुलभ र सस्तो रहेको बताए । एकै ठाउँमा धेरै पुस्तक पाउने हुँदा धेरै पसल धाउनुपर्ने समस्या नरहेको भन्दै पुस्तकप्रेमीहरूको लागि मेला उत्कृष्ट अवसर भएको बताए । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टरको संयुक्त आयोजनामा काठमाडौँको भृकुटीमण्डपमा प्रदर्शनी सुरू भएको हो । महासङ्घ र करेन्ट मिडिया दुवै संस्थाद्वारा गत वर्षदेखि सुरू गरिएको प्रदर्शनीलाई निरन्तरता दिँदै यही पुस १७ गते देखि २१ गतेसम्म सञ्चालन हुने प्रदर्शनी पुस्तक र शिक्षासँग सरोकार राख्ने व्यक्ति र संस्थाका लागि आकर्षणको केन्द्र बन्दै गएको छ ।  

प्रतिक्रिया

नेपाल न्युज बैंक
लेखकको बारेमा
नेपाल न्युज बैंक

नेपाल न्युज बैंक समाचार एजेन्सी हो ।

सम्बन्धित समाचार