धरान: धरानबाट लागुऔषध सहित ५ जना पक्राउ परेका छन् । आइतबार धरान उपमहानगरपालिका वडा नं ०७ स्थित कोशी राजमार्गबाट प्रहरीले लागुऔषध स्पासपेन र ट्रामाडोल सहित प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
यसरी पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका वडा नं १२ बस्ने १८ वर्षीय मुकेश गुप्ता, २२ वर्षीय दिपसन राई, १८ वर्षीय पुजन यादव, धरान उपमहानगरपालिका वडा नं १९ बस्ने २१ वर्षीय रोहित कार्की र १९ वर्षीय अनुराग राई रहेका छन् ।
आइतबार राती ११ः४० बजे विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय धरानबाट प्रहरी नायब निरीक्षक रुद्र बहादुर खड्काको कमान्डमा खटिएको प्रहरी टोलीले धरान वडा नं ०७ स्थित कोशी राजमार्गमा चेकजाँच गरेको थियो ।
चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट प्रतिबन्धित औषधी स्पासपेन ३०० ट्याब्लेट र लागू औषध ट्रामाडोल ३०० ट्याब्लेट फेला पारेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
प्रतिक्रिया