इलाम : इलाममा पर्यटकीय स्थलको प्रचारका लागि ऐतिहासिक पदयात्राको तयारी पूरा भएको छ । बुधबार (पुष २४ं गतेदेखि २६ गतेसम्म तीन दिने पदयात्राको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएको छ ।
निसान नेपाल एकीकरणसँग सम्बन्ध जोडिएको ऐतिहासिक सम्पत्तिका रूपमा लिइन्छ । नेपाल एकीकरणसँग ऐतिहासिक सम्बन्ध जोडिएको निसानको महत्व युवा पुस्ताले भुल्दै गएको भए पनि यसलाई जगेर्ना गर्न स्थानीय तह जुटेका छन् ।
भारतसँग नेपाल एकीकरणमा पूर्व तर्फको सीमामा विजय पश्चात् गाडिएका निसान फर्काइएको बाटोसमेत हराउँदै गएपछि सो सडकको संरक्षणमा पदयात्रा गरिने भएको हो ।
नेपालको पूर्वी सीमा कुनै बेला टिस्टा नदीसम्म पुगेको इतिहास छ । तत्कालीन समयमा नेपाली सेनाको वीरताको प्रतीकका रूपमा त्यहाँ राखिएको दुई सय वर्ष ४८ वर्ष पुरानो निसान फर्काइएको सडकमा पैदल यात्रा गरिने भएको हो ।
नेपाली सेनाको इलामस्थित रणसार्दुल गणसहित जिल्लाका तीन वटा पालिकाको समन्वयमा पुस २४ गतेबाट २६ गतेसम्म पदयात्रा गरिने भएको हो । इलाम नगरपालिका, भारतसँग सीमा जोडिएको सूर्योदय नगरपालिका र निसान बीचमा राखिएको माईजोगमाई गाउँपालिकाको संयुक्त आयोजनामा पदयात्राको तयारी भएको हो ।
निसानसँग नेपाली सेनाको छुट्टै र ऐतिहासिक नाता भएका कारण पनि नेपाली सेनाले यसको संरक्षण गर्दै आएको छ ।
इलाम सदरमुकाममा राखिएको निसान २०५९ सालमा तत्कालीन सरकार र माओवादी द्धन्द का समयमा सुरक्षाका कारण देखाउँदै काठमाडौँ सारिएको थियो । पुनः सो निसान इलाममा २०७४ सालमा इलाममा नै फर्काइएको छ । सुगौली सन्धिपछि इलाम भित्र्याइएको सेनाको श्रीनाथ गुल्मको निसान १५ वर्षपछि काठमाडौँबाट पुन इलाम सारिएको छ ।
भारतसँग सीमामा राखिएको निसान फर्काइको बाटोको संरक्षण गर्दै निसान पदयात्राको तयारी गरिएको छ ।
आयोजक इलाम नगरपालिकाका प्रमुख केदार थापाका अनुसार तत्कालीन श्रीनाथ पल्टनले पूर्वको भू–भाग विजय गरेर गाडेका निसान सुगौली सन्धिपछि फर्काएर राखिएका स्थानलाई जोडेर निसान पदयात्रा तयारी गरिएको हो ।
नेपाल–भारत पूर्वी सीमा मेची बजारबाट पदयात्राको शुभारम्भ गरिने भएको छ । २४ गते बिहान पदयात्रा शुभारम्भ भएर निसान राखिएको ठाउँ पुर्णेडाँडामा बास बस्ने कार्यक्रम रहेको छ । ४१.१ किलोमिटर को पदयात्रामा करिब दुई सयले एकैपटक यात्रा गर्ने उनले बताए ।
२४ गते पूूर्णेडाँडामा बास बस्ने र २५ गते पुनः सोही स्थानबाट औपचारिक उद्घाटन गर्ने कार्यक्रम तय भएको इलाम नगरपालिकाका वडा नम्बर ७ का वडाध्यक्ष नरेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार उद्घाटनपछि फेरी निसान फर्काइएको गोरेटो सटकमा नै पदयात्रा हुने छ ।
निसान बास बसेको माइजोगमाई गाउँपालिकाको नामासालिङस्थित हात्ती टारमा आएर २५ गतेको बास बस्ने कार्यक्रम तय भएको छ ।
२५ गतेको बासपछि २६ गते बिहान नामसालिङको हात्तिटारबाट सुरू हुने पदयात्रा माई बेनी, तिल्केनी हुँदै हाल निसान रहेको इलाम सदरमुकाममा आउनेछ । सदरमुकामस्थित माई स्थान मन्दिरमा हाल निसान र तोप राखिएको छ ।
सोही स्थानमा आएर पदयात्रा कार्यक्रमको समापन हुने इलाम नगरपालिकाका प्रवक्ता नुतनदेव दुलालले बताए । उनका अनुसार पदयात्राको समापन भए पनि पदयात्रीहरूलाई थाहा दिन उक्त दिनदेखि नयाँ बाटो खुल्ने छ ।
तत्कालीन अवस्थामा पृथ्वीनारायण शाहले नेपाल एकीकरणमा खेलेको भूमिकासमेत सम्झाएको इतिहासकाका जानकार युद्धप्रसाद वैद्यले बताए । उनले निसान पृथ्वीनारायणसँग सम्बन्ध जोडिएको र नेपाल भारत सीमासँग ऐतिहासिक भएको बताए ।
पदयात्रा हुने भएपछि हरेक जोडिएका पालिका, पालिकाका पनि वडा र टोल विकासहरूले सरसफाइको काम गरिरहेका छन् । आफ्नो भूभागमा पर्ने पदमार्गको सरसफाइमा पालिका जुटेका छन् । पदयात्रीलाई खाने–बस्ने व्यवस्थापन, स्थानीय वेशभूषासहितको झाँकी प्रदर्शन समेत हुने भएको छ । जसका लागि सम्बन्धित पालिका र वडाहरूले स्थानीय व्यवस्थापन गरिरहेका छन् ।
निसानलाई सेनाको ‘शक्तिको स्रोत’का रूपमा समेत लिइन्छ । नेपाली सेनाले निसानलाई ‘शक्ति स्वरूपदेवी’ र ‘निसान भगवती’ मान्दै पूजापाठसमेत गर्ने गरेको छ । निसान नेपाली सेनाको गणको प्रतीक हो । निसान विशेष किसिमको झन्डाको स्वरूपमा हुन्छ ।
यसपटकको पदमार्गमा समेत तत्कालीन नेपाली सेनाको पोसाक सहित नेपाली सेनाको सहभागिता रहने जनाइएको छ । निसानको साङ्केतिक निसानसहित तत्कालीन दौरा सुरुवालसहितको नेपाली सेनाको पोसाकमा १० जना सेना रहने बताइएको छ ।
कालो पोसाकको त्यसबेलाको नेपाली सेनाको पोसाकमा सजिएका सेनासहित तत्कालीन समयमा प्रयोग भएका वस्तुहरू समेत पदयात्रामा प्रदर्शन गरिने भएको छ ।
प्रतिक्रिया
लेखकको बारेमा
टीका खतिवडा
इलामबाट पत्रकारिता गर्ने खतिवडा, प्रदेश खबरका लागि समेत कलम चलाउँछन् ।
प्रतिक्रिया