धरान एक्स्पो सुरू, उपप्रधानमन्त्री सिंहले भने – राजनीतिक स्थायित्व नभई आर्थिक सम्पन्न हुन्न

विहीबार, २५ पुस २०८१
धरान : उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालमा राजनीतिक स्थायित्व नभई आर्थिक सम्पन्नताको मार्ग अपनाउन मुस्किल हुने बताएका छन् । बिहीबार धरान एक्सपो–२०८१ को उद्घाटन कार्यक्रममा बोल्दै उनले राजनीतिक स्थायित्व भएमात्र आर्थिक रूपमा मानिस सम्पन्न हुने जिकिर गरेका हुन् । देशको राजनीति स्थायित्व दिनको लागि नै देशकै ठूलो दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर वर्तमान सरकारको गठन भएको सिंहले बताए । राजनीतिक स्थायित्वको लागि सबै जनप्रतिधिहरूले पनि साथ दिनुपर्ने उनले बताए । “समस्या राज्यको सबै ठाउँमा छ । तर समस्या छ भनेर आत्तिनु हुँदैन, सबै मिलेर अगाडि बढनुपर्छ” उनले भने । एक्स्पोले किनमेल र मनोरञ्जनको थलो मात्र नबनाई आर्थिक गतिविधिलाई पुनः सक्रिय बनाउन भूमिका खेल्ने धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राईले बताए । सबैजना सहभागी भएर एक्स्पोलाई सफल बनाउन उनले आग्रहसमेत गरे । एक्स्पोले स्थानीय उद्यमीलाई आफ्नो उत्पादन र सेवाहरूको प्रदर्शनका लागि महत्त्वपूर्ण अवसर प्रदान गर्ने विश्वास रहेको आयोजक सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले बताए । ‘धरानको आर्थिक गतिविधिलाई पुनः सक्रिय बनाउनु र स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउनु यस एक्स्पोको मुख्य उद्देश्य हो,’ उनले भने । कोरोना महामारीपछि सुस्ताएको धरान बजारलाई चलायमान बनाउने उद्धेश्यका साथ धरान एक्स्पो आजबाट सुरू भएको हो । एक्स्पो आगामी माघ ५ गतेसम्म धरान रंगशालामा जारी छ । एक्स्पो मा एक सय ४२ वटा स्टल रहेको छ । कोशी प्रदेशका १४ वटै जिल्लाका व्यवसायीहरूले स्टल राखेका छन् भने १० करोड बराबरको कारोबार हुने अपेक्षा रहेको एक्स्पोका मुल संयोजक गोपाल श्रेष्ठले जानकारी दिए । एक्स्पोमा स्थानीय उत्पादन र त्यसको बजारीकरणको अनुभूति गराउन पनि सम्बद्ध कुराको प्रदर्शनीलाई समेत समेटेको छ । एक्स्पोमा छिमेकी देश भारत, पाकिस्तान र बंगलादेशकासमेत स्टल रहने छन् भने पर्यटन, स्वास्थ्य, साहित्यसँग सम्बन्धी पनि स्टल रहेको आयोजकले बताएको छ । एक्स्पोमा पर्यटन, कृषि, स्वरोजगार सम्बन्धी, वित्तिय संस्था संग गोष्ठी तथा प्रशिक्षण कार्यक्रम समेत रहेको संघका महासचिव महेन्द्र प्रधानले बताए । बिहीबार उद्घाटन कार्यक्रममा कोशी प्रदेशाक पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल, सांसदहरू यशोदा कायस्थ, विजय राई, धरान उपमहानगरपालिकाका उपप्रमुख आईन्द्रबिक्रम बेघा, पूर्व नगर प्रमुख तिलक राईलगायत राजनितिक दलहरूका प्रतिनिधि सहभागी थिए ।

प्रतिक्रिया

निशा राई
लेखकको बारेमा
निशा राई

सम्बन्धित समाचार