पोखरा : सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने धरौटी बुझाएर रिहा भएका छन् । लामिछानेले बिहीबार साँझ ६५ लाख बैंक धरौटी बुझाएर रिहा भएका हुन्।
लामिछानेलाई अन्य जिल्ला अदालतमा दर्ता भएको मुद्दा प्रक्रियाको लागि स्वयं उपस्थित हुन मिल्ने सर्तमा कास्की अदालतले हिरासतमुक्त गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।
उनका अनुसार लामिछानेलाई पोखरास्थित फिस्टेल अस्पतालमा स्वास्थ्य परीक्षणपछि प्रक्रिया पुर्याएर प्रहरीले परिवारलाई जिम्मा लगाउनेछ ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्त लामिछानेलाई जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई प्रहरीले गत २ कात्तिकमा काठमाडौंबाट पक्राउ गरेर पोखरा पुर्याएको थियो ।
बिहीबार अदालतले जारी गरेको आदेशमा भनिएको छ, ‘प्रतिवादी रवि लामिछानेको हकमा रवि लामिछानले उक्त रकम गोर्खा मिडिया नेटवर्क प्रालिको नाममा संचालनमा रहेको ग्लोबल आइएमई बैंकको खाता नम्बर बाट सन् २०२१ को जनवरी २२ मा जम्मा गरेको देखिँदा सहकारीको रकम निज प्रतिवादीको खातामा आउने र त्यहाँबाट अन्यत्र जाने कार्यसमेत भएको देखिएको र अन्य प्रतिवादीसँगको अन्तरसम्बन्ध तथा बैंक खाताको ट्रान्जेक्सनको आधारमा प्राप्त प्रमाणबाट निज प्रतिवादी अहिले नै कसुरदार रहेनछन् भन्न सकिने मनासिव आधार नदेखिएता पनि तत्काल माथि उल्लेखित प्रमाणबाट पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने नै हुँदा निज प्रतिवादी रवि लामिछानेबाट फौजदारी कार्यविधि संहिताको ०६८ र ०७२ समेतको आधारमा धरौटीको ६५ लाख लिई वा सो बराबरको जेथा वा बैंक जमानत लिई वा दिन नसकेमा दफा ८० बमोजिम थुनामा राख्नू ।’
प्रतिक्रिया