पासोमा परिणत बन्दै मेची राजमार्ग, पूर्वी पहाडको भविष्य अन्योल बन्दै

आइतबार, ०६ माघ २०८१
इलाम : गएको बर्खामा मेची राजमार्गका विभिन्न क्षेत्रमा सडक अवरोध बन्यो । इलाम, पाँचथर, ताप्लेजुङलगायतका जिल्लामा आवतजावत गर्ने सवारी साधन वारपार गर्न नसक्दा यात्रुहरू बिचल्लीमा परे । बर्खामा सडक अवरूद्ध बन्यो । हिउँद लागेपछि सवारी सञ्चालन हुन थालेपनि समयमा नै मर्मत गर्नुपर्ने सडक हालसम्म निर्माण सुरु नै गरिएको छैन । असोजको पहिरोले चुँडिएको मेची राजमार्ग मर्मत नहुँदा सडकमा समस्या बढ्ने निश्चितप्रायः छ । पानी पर्नेबित्तिकै यो सडक पुनः अवरुद्ध हुने भन्दै इलामका प्रवेश पराजुलीले चिन्ता व्यक्त गरे । उनले अब आउने बर्खामा सवारीसाधन वारपार गराउन समस्या हुने बताए । पहिरो बीचमा नै रोकिएको छ । रोकिएको पहिरो झर्नासाथ सडक अनिश्चितकालीन रूपमा बन्द हुने भएपनि मर्मतका लागि कसैले वास्ता गरेको देखिँदैन, उनले भने, इलामको माइखोला, भन्ज्याङ खण्डमा गएको पीडा दोहोरिने अवस्थामा छ । पूर्वी पहाडको भाग्य र भविष्य बोकेको मेची राजमार्ग मर्मतमा सम्बन्धित निकायले चासो देखाउनुपर्छ । झापाको चारआली देखि इलाम हुँदै पाँचथर र ताप्लेजुङसम्म जोडिएको यस सडक खण्डका विभिन्न ठाउँमा समस्या छन् । करिब दुई सय मिटर लम्बाई रहेको यस सडक खण्डका विभिन्न ठाउँमा धाँजा फाटेको छ । धेरै ठाउँमा पहिरोका कारण समस्या छ । पाँचथरको फिदिम नगरपालिकाको रमितेको पहिरोसमेत उत्तिकै जोखिम छ । पाँचथर र ताप्लेजुङ जोड्ने हेवा खोलामा लगाइएको पुलसमेत बाढीले बगायो । यो खोलामा लगाइएको पुल निरन्तर दुईवटा बर्खामा नै बगाएको हो । हिउँदका दिनमा मर्मत हुनुपर्ने सडक मर्मत हुन नसक्दा निरन्तर यस्तो समस्या बल्झिने निश्चितजस्तै छ । स्थानीयबासीका अनुसार यो सडक भएर सांसद मन्त्रीका गाडी गुड्छन् । तर उनीहरूका आँखा सडकमा पुग्दैनन् । आँखा पुगे पनि मर्मतमा उनीहरूको ध्यान जान सकेको छैन । वैकल्पिक सडक निर्माणमासमेत सम्बन्धित निकायको चासो जान नसक्दा यस क्षेत्रका बासिन्दाहरू चिन्तित बनेका छन् । गएको बर्खाको अवस्था यस क्षेत्रका बासिन्दाले आगामी वर्षसमेत भोग्नुपर्ने निश्चितजस्तै भएको सवारी व्यवसायी ठाकुर खतिवडाले बताए । जनप्रतिनिधि, राजनीतिक दलका नेता तथा कार्यकर्ता, आफूलाई सामाजिक अभियान्ता बताउनेहरू समेत सडकको अवस्थाका बारेका तैँ चुप, मै चुपको अस्थामा रहेको उनले सुनाए । सम्बन्धित निकायको ध्यानाकर्षण गराउन आफूहरू अग्रसर हुने इलाम बजारका केशव खनाल बताउँछन् । उता, डिभिजन सडक कार्यालयका प्रमुख पवन भट्टराईले आगामी बर्खामा उक्त सडक जोखिममा परिणत हुने स्वीकार गर्छन् । वैकल्पिक सडक निर्माणका लागि बजेट व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । मेची राजमार्गको राजदुवालीका लागि वैकल्पिक सडक धेरै छन् । तर, कतै बजेट अभावले मर्मत रोकिएको छ । कतै लागेको ठेक्काको काम ज्यादै सुस्त गतिमा छ । ठूला सवारी साधनसमेत चल्न सक्ने कचना–कञ्चनजंघा मार्गमा कालोपत्रसम्मका ठेक्का लागेका छन् । तर, कामको गति कछुवा गतिमा छ । निर्माण कम्पनीले जिम्मा लिएको ठेक्काको म्याद पटक–पटक सकिँदा पनि ४० प्रतिशतभन्दा बढी भौतिक प्रगति हुन सकेको छैन । साथै, यही मार्गको बीचमा पर्ने पुवाखोलामा पुलसमेत छैन । पुल नहुँदा बर्खामा गाडी वारपार गर्नै समस्या हुने गरेको छ । पुलका लागि तीन करोड ६० लाख रुपैयाँको लगत स्टिमेट डिभिजनले सडक विभागमा पेस गरिसकेको बताएको छ । तर, बजेटको टुंगो लाग्न सकेको छैन । वैकल्पिक भनिएको सिमल गोलाई–माइबेनी–तिल्केनी मार्ग १२ किलोमिटरको छ । सडक साँघुरो भएकाले ठूला सवारी साधन चल्ने अवस्था छैन । बीचमा पर्ने जोगमाई खोलामा पुल पनि छैन । चालु वर्ष संघीय सरकारले यो वैकल्पिक सडकलाई एक करोड रुपैयाँ विनियोजन गरेको छ । अहिले कामका लागि ठेक्का पनि लागेको छ । तर, यो सडकका लागि विनियोजित रकम ज्यादै अपुग हुने बताइएको छ । उक्त सडकको जोगमाई खोलामा पुल हाल्न पनि डिभिजनले लगत स्टिमेट पठाइसकेको भएपनि आवश्यक काम अगाडि बढ्न सकेको छैन । यसबारे सम्बन्धित निकायको ध्यान जानुपर्ने स्थानीयबासीहरू बताउँछन् ।

प्रतिक्रिया

टीका खतिवडा
लेखकको बारेमा
टीका खतिवडा

इलामबाट पत्रकारिता गर्ने खतिवडा, प्रदेश खबरका लागि समेत कलम चलाउँछन् ।

सम्बन्धित समाचार