स्कुल बसमा सिट क्षमताभन्दा बढी विद्यार्थी बोक्ने चालक कारबाहीमा

आइतबार, ०६ माघ २०८१
नवलपुर : नवलपुरमा रहेका स्कुल बसमा सिट क्षमताभन्दा बढी विद्यार्थी बोक्ने चालक कारबाहीमा परेका छन् । ट्राफिक नियम नियम उल्लंघन गरेको गुनासो बढेपछि ट्राफिक प्रहरीले नवलपुरमा स्कुल बसमा चेकिङ बढाएर नियम उल्लंघन गर्नेलाई कारबाही गर्न सुरु गरेको छ । जिल्ला बाल क्लबलगायत सामाजिक विकास कार्यालय, जिल्ला प्रशासन कार्यलयको सहयोगमा जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले शुक्रबार र आइतबार जिल्लाको कावसोतीमा अनुगमन गर्ने क्रममा विद्यालय बस सञ्चालन निर्देशिका–०७४ को मापदण्डविपरीत सन्चालन भएका १६ वटा शैक्षिक संस्थाका यातायातका साधनलाई कारबाही गरेको प्रहरी निरीक्षक जनकराज बञ्जाराले जानकारी दिए । गत शुक्रबार गैँडाकोट र आज आइतबार कावासोतीमा ट्राफिक प्रहरीले विद्यार्थी बोक्ने २९ वटा सवारी साधनलाई चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा विद्यार्थी बोक्ने बसमा सिट क्षमताभन्दा बढी विद्यार्थी राखेर बोक्ने गरेको, कतिपय बसको बिलबुकसमेत नभएको, बस सञ्चालन निर्देशिका बमोजिम बसमा प्राथमिक उपचार किट, आपतकालीन ढोका साथै ह्यामर पनि नरहेको तथा निर्देशिकाले तोके बमोजिम अधिकांश सवारी साधनले मापदण्ड पूरा नगरेको फेला परेको बञ्जाराले बताए । उनका अनुसार एक पटकका लागी कारबाहीमा परेका सवारी साधनलाई जरिवाना गरेर सम्बन्धित शैक्षिक संस्थाको जिम्मा लगाइएको हो । कावासोतीको कुमारवर्ती बहुमुखी क्याम्पस, मध्यविन्दु कलेज, आरम्भ एकेडमी, मामाघर एकेडमी, गैडाकोटको साइनिङ स्कुल, अक्स्फोर्ड कलेज, चितवनको एरोमा कलेज र एपेक्स एकेडेमीका स्कूल बसहरुमा ट्राफिक नियम पालना नभएपछि कारबाही गरिएको हो । ट्राफिक चेकजाँचलाई निरन्तरता दिने बताइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार