विराटनगर आएर गृहमन्त्री लेखकले भने - संविधान संशोधनको लागि सबै दलसँग छलफल सुरू भइसकेको छ

सोमबार, ०७ माघ २०८१
विराटनगर । गृहमन्त्री रमेश लेखकले संविधान संशोधनको छलफल सुरू भइसकेको बताएका छन् । विराटनगर विमानस्थलमा सोमबार संचारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले संविधानमा संशोधन गर्नुपर्ने विषयवस्तु तथा संविधानका सबल र दुर्बल पक्षको पहिचान गर्ने प्रक्रिया सुरु भइसकेको बताए । सबै कुराको पहिचान भइसकेपछि संशोधनका बारेमा थप छलफल हुने लेखकले बताए । संविधान संशोधनका लागि सबै राजनीतिक दलका बीचमा वार्ता, संवाद र सहमति गरिने उनको भनाइ छ । संविधानका सबल र दुर्बल पक्षको पहिचानपछि सबै दलसँग सहमति गरेर संशोधनको वैधानिक प्रक्रिया प्रारम्भ गरिने लेखेकले बताए । ‘संविधान संशोधनको विषय चरणबद्ध रूपमा अगाडि बढ्छ,’ उनले भने, ‘त्यसका लागि सबै दलसँग छलफल प्रारम्भ भइसकेको छ ।’ सरकारले ल्याएको अध्यादेशका बारेमा कुनै पनि विवाद नरहेको गृहमन्त्री लेखकको दाबी छ । ‘सुशासनको प्रत्याभूति दिलाउन, सेवा प्रवाहलाई प्रभावकारी बनाउन तथा देशभित्रै आर्थिक र व्यावसायिक गतिविधिलाई बढाउनका निम्ति कानुनमा भएको झन्झटलाई समाप्त पार्न अध्यादेश ल्याइएको हो,’ उनी भन्छन्, ‘यसले व्यावसायिक र देशभित्र वैदेशिक लगानीका लागि वातावरण बनाउन सहयोग गर्छ । लेखकले आज बस्ने मन्त्रिपरिषद् बैठकले संघीय संसदको अधिवेशन आह्वान गर्ने जानकारी पनि दिए । संसद अधिवेशनको पहिलो दिन नै अध्यादेशलाई प्रस्तुत गरिने र पारित गर्नतर्फ लाग्ने उनको भनाइ छ । गृहमन्त्री लेखकले शान्ति सुरक्षको अवस्था मजवुत बनाउन सरकारले काम गरिरहेको बताए । ‘अपराध गर्नेलाई कानुन बमोजिम कारबाही हुन्छ । कुनै घटना क्षम्य र स्वीकार्य हुँदैन,’ उनले भने, ‘विभिन्न घटनाको अनुसन्धान एवं छानबिन भइरहेको छ । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री (उद्धव थापा)माथि भएको आक्रमणमा संलग्नलाई कारबाही हुन्छ ।’ सामाजिक सञ्जालमार्फत व्यक्तिको चरित्र हत्या गर्ने, समाजमा द्वन्द्व बढाउने तथा समाज र धर्म समुदायका बीचमा द्वन्द्व भड्काउन खोज्ने कुरा क्षम्य नहुने उनले बताए । तथ्यलाई गलत हिसाबले बाहिर ल्याउने तथा विदेशमा बसेर पनि भ्रामक प्रचार गर्नेविरुद्ध कारबाही हुने गृहमन्त्री लेखकको भनाइ छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार