काठमाडौँ । डोनाल्ड ट्रम्पले चार वर्षपछि ह्वाइट हाउसमा फर्किएपछि आफ्नो दोस्रो कार्यकालको सुरुवात गरेका छन् । त्यसक्रममा उनले विभिन्न दस्तावेजहरूमा हस्ताक्षर गरेका छन् भने केही आदेश समेत जारी गरेका छन् ।
सोमबार राति अमेरिकाको ४७ औं राष्ट्रपतिका रुपमा सपथ ग्रहण गर्दै उनले मंगल ग्रहमा अन्तरिक्षयात्री पठाउने समेत घोषणा गरेका छन् । वाशिंगटन डीसीमा चिसो मौसमको कारण उनको उद्घाटन समारोह घरभित्र आयोजना गरिएको थियो ।
ट्रम्पले प्रधानन्यायाधीश जोन रोबट्र्सले आफ्नो पदको सपथ लिएका थिए। शपथपछि उनले मेक्सिकोसँगको सिमानामा राष्ट्रिय सङ्कटकालको घोषणा गरेका छन् । त्यस्तै उनले बाइडन प्रशासनले लागू गरेका झण्डै असीवटा प्रावधानहरूलाई उल्टाइदिए भने पेरिस जलवायु सम्झौताबाट अमेरिका बाहिरिएको घोषणा गरे ।
त्यस्तै, उनले सरकारी खर्च प्रभावकारिता सम्बन्धी विभागको स्थापना, विश्व स्वास्थ्य सङ्गठनको सदस्यताबाट बाहिरिने, दक्षिणी सिमानामा ‘राष्ट्रिय सङ्कटकाल’को घोषणा, टिकटक विरुद्धको प्रतिबन्ध कार्यान्वयनमा आउनमा अस्थायी रोक प्रक्रिया अघि बढाउने घोषणा गरे ।
त्यस्तै, राष्ट्रपति ट्रम्पको कार्यकारी आदेशबाट चार वर्षअघि अमेरिकी संसद् भवन क्यापिटलमा जबर्जस्ती प्रवेश गरेर हुलदङ्गा भएको घटनामा संलग्न झण्डै १६ सय जनालाई क्षमादान दिने निर्णय पनि गरेका छन् ।
उनले तेल र ग्यासको उत्पादन बढाउने पनि घोषणा गरे । ट्रम्पले सबैभन्दा बलियो सेना निर्माण गर्ने वाचा पनि गरेका छन् । राष्ट्रपतिले मेक्सिकोको खाडीको नाम बदलेर गल्फ अफ अमेरिका राख्ने र पनामा नहर फिर्ता लिने कुरा दोहोर्याएका छन् । ट्रम्पको सपथ ग्रहण हुनुभन्दा केहीबेरअघि जेडी भान्सले उपराष्ट्रपतिको रूपमा शपथ लिएका थिए ।
प्रतिक्रिया