तीन बुंदे सहमति पछि नेपाली काँग्रेसले महानगरमा लगाएको ताला आफैँ खोल्यो

बुधबार, ०९ माघ २०८१
पोखरा । नेपाली काँग्रेस समर्थित नगर सभासदहरुले पोखरा महानगरपालिकामा लगाएको ताला आज बिहान आफैँ खोलेका छन्। मेयर धनराज आचार्यसँग तीन बुंदे सहमति भएको भन्दै नेपाली काँग्रेस समर्थित नगर सभासदहरुले पोखरा महानगरपालिकामा लगाएको ताला आज बिहान आफैँ खोलेका हुन्। गणपूरक सङ्ख्या पुगेर पनि मेयर धनराज आचार्यले अकस्मात् नगर सभा माघ १० गतेसम्मका लागि स्थगित गरेको भन्दै आक्रोशित उनीहरूले मेयर आचार्य सहित उपमेयर मन्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएका थिए । सोही दिन नेकपा एमाले समर्थित नगरसभासदहरुले भने महानगरको विशेष नगर सभाले पारित गरेका एजेन्डाहरू त्यस दिनको नगर सभाको एजेन्डामा नै नपरेको भन्दै बहिष्कार गरेको पोखरा ५ का वडाध्यक्ष विष्णु प्रसाद बरालले जानकारी दिए। नेपाली काँग्रेस पोखरा महानगर संसदीय दलका नेता दिवास्मान प्रधानाङ्गले दिएको जानकारी अनुसार , मेयर धनराज आचार्यसँग पोखरा महानगरपालिकामा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरू बिच गएको मङ्सिर २३ गते बसेको विशेष नगर सभा मार्फत पारित साबुदे सहमति अक्षरशस् पालना गर्ने, सम्पूर्ण वडा कार्यालय, महाशाखा, शाखा लगायत खर्च केन्द्रहरूका शिर्षकान्तर र रकमान्तर हुन नसकी पूर्वाधार विकास तथा अन्य कार्यहरू ठप्प हुन गएको अवस्थामा महानगरको १६ औँ नगर सभा मार्फत आवश्यक निर्णय गर्ने गरी चालु नगर सभा माघ ११ गते बोलाउने सहमति भएको छ। काँग्रेस संसदीय दलका नेता आफूहरू करारका कर्मचारीलाई माघ १ गतेदेखि करारमुक्त गर्ने र महानगरमा काजमा आएका कर्मचारीलाई उसकै दरबन्दीमा फर्काउने लगायतका निर्णयहरू कार्यान्वयन गर्नमा प्रतिबद्ध रहेको बताउँछन्। यता नेकपा एमालेका तर्फबाट पोखरा ५ मा वडाध्यक्ष बनेका विष्णुप्रसाद बरालले विगतमा आफ्नो पार्टीसङ भएको सहमति बमोजिमका एजेन्डाहरू माघ ११ गतेको नगर सभामा पेस नभए बैठक नै चलन नदिने दाबी गर्छन्। वडाध्यक्ष बराल आउने बैठकमा आर्थिक महाशाखा गठन, बक्यौता रकम असुली सम्बन्धी कार्य योजना लगायतका प्रस्तावहरू नआएमा बैठक नै चलन नदिने बताउँछन्। वडाध्यक्ष बरालको प्रश्न छ , जनाप्रतिनिधिसंग भएको सहमति कार्यान्वयन गर्नमा नेपाली काँग्रेस सहमत हो भने महानगरका मेयर , उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा किन ताला लगाइएको हो रु उनीहरूले किन तालाबन्दी गरेर किन खोले त ? सहमति कार्यान्वयन सम्बन्धमा नगरा सभामा नै छलफल गर्न सक्ने अवस्थामा नेपाली काँग्रेसले महानगरका मेयर , उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेर महाभूल गरेको वडाध्यक्ष बरालको टिप्पणी रहेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार