पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन सक्रिय राजनीतिमा आउँदा म खुसी छु : पूर्वराष्ट्रपति भण्डारी

सोमबार, १४ माघ २०८१
विराटनगर : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन नेकपा (माओवादी केन्द्र) को सक्रिय राजनीतिमा आउँदा आफूलाई खुसी लागेको बताएकी छन् । विराटनगरमा सोमबार पत्रकार सम्मेलन गरेर उनले यस्तो बताएकी हुन् । पुनका बारेमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै उनले भनिन्, ‘खुसी लागेको छ । उहाँँ युवा हुनुहुन्छ । अनुभव छ । राजनीति गरेर आउनु भएको हो । म राष्ट्रपति र उहाँ उपराष्ट्रपति भएर ७ वर्ष सहकार्य गरेको हो । उहाँलाई मेरो शुभेच्छा छ ।’ पूर्वराष्ट्रपति भण्डारीले भने आफू राष्ट्रिय राजनीतिमा सक्रिय रहेको बताएकी छन् । दलीय नभएर अहिले आफूले राष्ट्रिय राजनीति गरिरहेको उनले बताइन् । राष्ट्रले आवश्यकता महसुस गरेमा दलीय राजनीतिमा पनि आउनसक्ने उनले संकेत गरिन् । राष्ट्रको आवश्यकताले खोजी भएमा दलीय राजनीतिमा पुनः सक्रिय हुने इच्छा भण्डारीले व्यक्त गरेकी हुन् । तर, अहिले नै कुनै दलमा आबद्ध हुने निर्णयमा आफू नपुगेको उनले स्पष्ट पारेकी छन् । नेकपा (एमाले) को सदस्यता नवीकरण गरेको र दलीय राजनीतिमा सक्रिय रहेको भनेर आएका हल्लाहरु गलत भएको उनको भनाइ छ । भण्डारीलाई दलीय राजनीतिमा फर्कने र एमालेको अध्यक्ष बन्ने प्रयासमा रहे नरहेको भन्दै पत्रकारले प्रश्न गरेका थिए । तर, उनले भने अहिले कुनै दलमा नरहेको र राष्ट्रको आवश्यकताले खोजी भए दलीय राजनीतिमा पुनः फर्कने बताइन् । ‘राष्ट्रपति पद, गैरराजनीतिक पद होइन । राष्ट्रिय राजनीतिमा म सक्रिय नै छु । राष्ट्रिय राजनीतिका समग्र एजेन्डामा सबै पक्षहरूसँग छलफल गरिरहेको छु । शिक्षा, स्वास्थ्य, खानेपानी, जलवायु परिवर्नत, वैदेशिक रोजगारीमा जानुपर्ने युवाको बाध्यतालगायतका समस्या समाधानका लागि छलफल चलाइरहेको छु । म सबै राष्ट्रिय दललाई सहयोग गर्छु । खास एजेन्डामा रहेका दललाई सहयोग गर्छु । ती एजेन्डा पूरा गर्न कुनै दलमा आबद्ध हुनुप¥यो भने त्यतिबेला निर्णय गर्ने छु,’ भण्डारीले भनिन् । उनले मोरङ र सुनसरीमा हुने विभिन्न शैक्षिक कार्यक्रम एवं गतिविधिमा सहभागी हुन आफू आएको जानकारी दिइन् । नेपालको शिक्षा प्रणाली सुधार हुनुपर्छ भनेर आफूले बारम्बार कुरा उठाइरहेको भण्डारीले बताइन् । ‘राजनीतिबाट अछुत कोही हुँदैन । तर, देशको सर्वोपरी हितलाई ध्यानमा राखेर सबैले काम गरौं । देशको स्थायित्व र शान्तिको विषयमा मेरो गहिरो चासो छ । राष्ट्रको हितमा सबै लड्नुपर्छ । यो सबैको दायित्व हो,’ भण्डारीले भनिन् । उनले विराटनगरको बिग होटलमा पार्टीका नेता, महिला नेतृ, युवा तथा विद्यार्थीहरुसँग छुट्टाछुट्टै भेटघाट गरेकी थिइन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार