अछाम : अछामको किशोरी मृत्यु प्रकरणमा दुई जनाविरुद्ध किटानी जाहेरी परेको छ ।
ढकारी गाउँपालिका ८ कि सरस्वती खड्का र इशरा खड्काको हत्या भएको भन्दै परिवारले जिल्ला प्रहरी कार्यालय अछाममा किटानी जाहेरी दिएका हुन् ।
मृतक सरस्वतीका ठुलोबुवा तथा इशराका हजुरबुवा अवि खड्काले दिएको किटानी अनुसार ढकारी गाउँपालिका ३ तालीका १७ वर्षीय चक्र बुढा र १५ वर्षीय कमल बुढा छन् । उनीहरूलाई नियन्त्रणमा लिएर प्रहरीले हिरासतमा राखेको छ ।
पक्राउ परेकाहरूसँग प्रहरीले प्रारम्भिक बयान लिने काम गरिरहेको छ । उनीहरूले प्रहरीसँगको बयानमा घटना भएको दिन शव फेला परेको जङ्गलमा गएको स्वीकार गरेका छन् ।
गत शुक्रबार ढकारी गाउँपालिका १ को छिन्ने ओढार जङ्गलमा ढकारी ८ कि १५ वर्षीय सरस्वती खड्का र १४ वर्षीय इशरा खड्का मृत भेटिएका थिए ।
जिल्ला प्रहरी कार्यालयले किशोरी मृत्युको घटनामा अहिलेसम्म ११ देखि ४० वर्षसम्मका पाँच जनालाई नियन्त्रणमा लिएको छ भने झण्डै आधा दर्जन मानिसको बयान लिइएको बताएको छ ।
प्रतिक्रिया