जनकपुर । मधेश प्रदेश सभाको सातौँ वार्षिक उत्सव मनाउने तयारी थालिएको छ ।
मधेश प्रदेश सभा गठन भएको सात वर्ष पुग्न लागेको अवसरमा माघ २१ गते विभिन्न कार्यक्रम गरी सातौँ वार्षिक उत्सव मनाउन लागिएको हो । वार्षिकोत्सवको तयारीलाई तीव्रता दिइएको छ ।
वार्षिकोत्सवको तयारी हुँदै गर्दा के मधेश प्रदेश र प्रदेशवासीले सङ्घीयताको अनुभव गर्न सकेको छ, प्रदेश संरचना निर्माण भएपछिको उपलब्धि के के हुन, अरू के गर्न बाँकी छ भन्ने प्रश्नहरूको उत्तर पाउन मुस्किल छ ।
सांसद राम आशिष् यादवले वर्तमान सरकारले गर्दा मधेश प्रदेशमा अहिले सङ्घीयतामाथि प्रश्न उठिरहेको बताएका छन् ।
उनले भने, ‘जसरी प्रदेशका गौरवका योजनाहरू अन्तरगतका कार्यक्रमहरूलाई सरकारले राम्रोसँग चलाउन सकेन भएको विश्वविद्यालयलाई पनि गुणस्तर बनाउन सकिरहेको छैन । भनेपछि वर्तमान सरकारले गर्दा मधेश प्रदेशमा अहिले सङ्घीयता माथि प्रश्न उठिरहेको छ । किनभने भएको ऐनलाई कार्यान्वयन गर्न त सक्नुपर्यो नि ।’
यसको साथै, अर्का सांसद भरत साहले सङ्घीयतालाई व्यवस्थित गर्नको लागि ठुला दलहरू र उसका नेताहरू बेइमान रहेको बताए ।
उनले भने, ‘सङ्घीयतालाई व्यवस्थित गर्नको लागि ठुला दलहरू बेइमान छन् । उसका नेताहरू बेइमान छन् । अझै पनि देशमा अर्को ठुलो महत्त्वपूर्ण आन्दोलन र परिवर्तन भएन भने महत्त्वपूर्ण अधिकारहरू दिने पक्षमा छैनन् ।’
सङ्घीयता आएको सात वर्ष पूरा भइसक्दा केही काम भएको छैन भन्न नमिल्ने सांसद रुपा यादव बताउँछिन् । उनले समग्रमा काम भएको र बाँकी कामका लागि नीति नियम बन्दै गरेको पनि बताइन् ।
उनले भनिन्, ‘सङ्घीयता आएको सात वर्ष पूरा भइसक्यो । सात वर्षमा काम भएको छैन भन्ने पनि होइन तर जति हुनुपर्ने हो त्यो भन्दा कम भएको हो । यसमा कसरी सुधार गर्न सकिन्छ भन्ने कुरा सरकारले पनि हेर्नुपर्ने हुन्छ । समग्रमा काम भएको छ । यसको लागि नीति नियम बन्दैछ, बिस्तारै हुन्छ होला ।’
प्रतिक्रिया