विराटनगर : उच्च अदालत विराटनगरको आदेश उल्लङ्घन गर्दै मोरङ जिल्ला खेलकुद विकास समिति अध्यक्ष नियुक्त गरेपछि कोशी प्रदेश खेलकुद विकास बोर्डले लिखित जवाफ पेस गर्नुपर्ने भएको छ ।
मंगलबार ‘अदालतको अवहेलना’ मुद्दामा उच्चका न्यायाधीश राज्यलक्ष्मी बज्राचार्य र विष्णुप्रसाद अर्यालको इजलासले बोर्डलाई सात दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।
उच्च अदालत विराटनगरको आदेश उल्लङ्घन गर्दै कोशी प्रदेश खेलकुद विकास बोर्डले मोरङ जिल्ला खेलकुद विकास समितिको अध्यक्ष नियुक्त गरेपछि अदालतमा प्रदेश खेलकुद विकास बोर्ड र बोर्डका सदस्य सचिव पर्शुराम बस्नेतलाई विपक्षी बनाएर इन्द्र कुमार योञ्जन तामाङले सोमबार अदालतको अवहेलना मुद्दा दायर गरेका थिए ।
रिट निवेदकको माग अनुसार नै किन आदेश जारी नगर्ने भन्दै कारण देखाऊ आदेश दिएको हो ।
कोशी खेलकुद विकास बोर्डका अध्यक्षसमेत रहेका सामाजिक विकास मन्त्री पाँचकर्ण राईको अध्यक्षतामा १७ माघमा बसेको बैठकले मोरङ जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा सुरजबहादुर श्रेष्ठलाई श्रेष्ठलाई नियुक्त गरिएपछि उच्चमा सोमबार अवहेलना मुद्धा दर्ता भएको थियो ।
चार वर्षको लागि २०८० चैत २३ गते नियुक्त भएका इन्द्रकुमार योञ्जन तामाङलाई हटाएर प्रदेश सरकारले श्रेष्ठलाई नियुक्त गरेको हो । २०८१ भदौ ४ गते खेलकुद विकास बोर्डका सदस्य सचिव बस्नेतले योञ्जनलाई निलम्बन गर्ने निर्णय गरेका थिए ।
त्यसविरुद्ध योञ्जनले उच्च अदालतमा रिट दायर गरेकोमा अदालतले बोर्डको निर्णय कार्यान्वयन नगर्न र योञ्जनलाई काम गर्न दिन भन्दै भदौ १२ गते अन्तरिम आदेश दिएको थियो ।
आफूलाई काम गर्न दिनु भन्ने उच्च अदालतको आदेश विपरित काम गर्न नदिएको र नयाँ नियुक्ति गरेको भन्दै योञ्जनले नै रिट दायर गरेका हुन् । जहाँ अदालतको अवहेलनामा कारबाही गरी पाउँ भनिएको छ ।
कुनै कारणविना र राजनीतिक प्रतिशोधका आधारमा बस्नेतले आफूलाई निलम्बन गरेर पार्टीका कार्यकर्ता भर्ती गराउन खोजेको योञ्जनले आरोप समेत लगाएका छन् ।
प्रतिक्रिया
लेखकको बारेमा
खेमराज सापकाेटा
सहायक समाचार सम्पादनको भूमिकामा रहेका सापकोटा समसामयिक विषयमा कलम चलाउँछन् ।
प्रतिक्रिया