इटहरी । कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँच कर्ण राईले इन्द्रकुमार योञ्जन तामाङको नियुक्ति सम्बन्धी माइन्युट नदेखिएको साथै काममा नियमित नभएकोले मोरङ जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा अर्को व्यक्ति नियुक्त गर्नुपरेको प्रस्टीकरण दिएका छन् ।
प्रदेश खबरले मोरङ जिल्लाको अध्यक्षमा अर्को व्यक्ति नियुक्त गरेपछि उत्पन्न विवादका सन्दर्भमा जिज्ञासा राख्दा मन्त्री राईले भने, ‘योञ्जनलाई बोर्डको कति औँ बैठकले निर्णय गरेको हो ? त्यो हुनुप¥यो नि, त्यो नभएको र अहिले आवश्यकता महसुस गरेर अर्को नियुक्ति गरिएको हो ।’
राईले यो सम्बन्धी मुद्दा अदालतमा समेत रहेकाले अदालतले नै निकास दिने बताएका छन् ।
खास गरी कोशी खेलकुद विकास बोर्डका अध्यक्षसमेत रहेका मन्त्री राईको अध्यक्षतामा १७ माघमा बसेको बैठकले जिल्ला खेलकुद विकास समिति मोरङको अध्यक्षमा सुरजबहादुर श्रेष्ठलाई श्रेष्ठलाई नियुक्त गरिएको छ ।
२०८० चैत २३ गते नियुक्त भएका इन्द्रकुमार योञ्जन तामाङलाई हटाएर प्रदेश सरकारले श्रेष्ठलाई नियुक्त गरेको हो । बोर्डका सदस्यसचिव समेत रहेका एमाले नेता पर्शुराम बस्नेतको जोड बलमा पार्टीका जिल्ला सदस्य समेत रहेका श्रेष्ठलाई नियुक्ति दिलाएको बताइन्छ ।
यद्यपि योञ्जन आफ्नो निरन्तरता साथ सदस्य सचिव बस्नेतले अदालतको अवहेलना गरेको भन्दै उच्च अदालत पुगिसकेका छन् । यसअघि उच्च अदालतले नै बोर्डको निर्णय कार्यान्वयन नगर्न र योञ्जनलाई काम गर्न दिन भन्दै गत भदौ १२ गते अन्तरिम आदेश दिइएको थियो ।
त्यस आदेशको विपरीत श्रेष्ठको नियुक्ति भएको योञ्जनको दाबी छ । अदालतले समेत गत मङ्गलवार नै बोर्डलाई सात दिन भित्र लिखित जवाफ पेस गर्न आदेश जारी गरेको अवस्था छ ।
प्रतिक्रिया