चैत २६ र २७ गते ‘इलाम साहित्य महोत्सव’

शुक्रबार, १७ चैत्र २०७९
इलाम । चैत २६ र २७ गते इलाम सदरमुकाममा ‘इलाम साहित्य महोत्सव’ हुने भएको छ । महोत्सवमा देश तथा विदेशका साहित्यकारहरुको जमघट हुनेछ । पर्यटनका लागि साहित्य भन्ने नाराका साथ हुन लागेको महोत्सवमा नेपाल र भारतका चर्चित साहित्यकारहरु सहभागी हुनेछन् । इलाम साहित्य समाज र इलाम नगर साहित्य कला संगीत प्रतिष्ठानको आयोजनामा हुने महोत्सवमा साहित्यसँगै राजनैतिक व्यक्तित्वहरुको समेत सहभागिता हुने जनाइएको छ । महोत्सव अवसरमा रंगकर्मीहरुको पनि सहभागिता रहने इलाम साहित्य समाजका अध्यक्ष सुरेन्द्रकुमार राईले बताए । कला र साहित्यसँगै पर्यटनलाई जोडेर महोत्सव हुने भएको हो । इलाम बाहिरबाट महोत्सवमा डेढ सयभन्दा बढी साहित्यकारहरुलाई निमन्त्रणा गरिएको नगर साहित्य कला संगित प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङको भनाई छ । महोत्सवमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईलगायत पदाधिकारी पनि आउने जनाइएको छ । महोत्सवलाई प्रतिष्ठानको पनि सहयोग छ । साहित्यप्रति युवाहरुको आकर्षण बढाउन साहित्य महोत्सवले मद्दत पुग्ने साहित्य समाजका सल्लाहाकार बिमल बैद्यले बताए । महोत्सव आयोजनाका लागि १८ लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ । साहित्यको क्षेत्रबाट इलामको पर्यटन प्रबर्द्धन गर्दै साहित्यलाई देश बिदेशमा चिनाउने उद्देश्यका महोत्सवको आयोजना गर्न लागिएको आयोजक साहित्य समाजका सचिव रोशन राईले बताए । महोत्सवमा नेपालका बिभिन्न जिल्ला भारतको झारखण्ड, दार्जिलिङ, कोलकत्ता, सिक्किम, सिलगुडिबाट बिशिष्ट साहित्यकारहरुको उपस्थित रहने इलाम नगर साहित्य कला प्रतिष्ठानका अध्यक्ष थाम्सुहाङले जानकारी दिए । महोत्सवमा नेपाली सिने जगतका चर्चित कलाकारहरु उपेन्द्र सुब्बा, बिजय बराल र करिश्मा मानन्धरको पनि उपस्थिति रहनेछ । महोत्सवमा कवितामा स्थानीय चेत, कला र आदिवासि सौन्दर्य चेतना, महाभारादेखि टिष्टासम्म, कस्तो सिनेमा, सफल कि सार्थक, समाबेशि लेखन, नेपालको पर्यटनमा पूर्वेली भाषा, साहित्य र सत्ता, मातृभाषा साहित्यमा शिल्प चेतना लगायतका बिषयमा छलफल र बहस हुनेछ । कोशी प्रदेश कहिले बन्छ, एक नम्बर प्रदेश ? शीर्षकमा पत्रकार बसन्त बस्नेतले गुरुराज घिमिरे, प्रदिप ज्ञवाली र घनश्याम भुषालसँग बहस गर्ने कार्यक्रमे छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार