प्रादेशिक आमसञ्चार विधेयक सहमतिमै पारित हुन्छ : मुख्यमन्त्री कार्की

बुधबार, ३० माघ २०८१
विराटनगर :  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रादेशिक आम सञ्चार विधेयक पर्याप्त छलफल र सहमतिमा पारित गरिने बताएका छन्। प्रेस चौतारी कोशी प्रदेश समितिको दोस्रो अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले विधेयकमाथि रहेका कमजोरी सच्याउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। 'सरकारले ल्याउने विधेयकमा दलका नेताहरुले पनि विरोध गरेको सुनिन्छ, तर अध्यादेश संवैधानिक प्रक्रिया हो। सदनबाट पारित नभएमा खारेज हुनेछ, तर अध्यादेश ल्याउन नपाउने भन्ने होइन,' उनले भने। मुख्यमन्त्री कार्कीले अघिल्लो सरकार र प्रदेश सरकारले पनि अध्यादेश ल्याउने गरेको उल्लेख गर्दै अनावश्यक विरोध गर्न नहुने धारणा राखे। उनले प्रदेशको विकास र पर्यटन प्रवर्द्धनका लागि सरकार गम्भीर रहेको जानकारी गराउँदै २९ वटा पालिका जोड्ने गरी चारवटा नयाँ पदमार्ग निर्माणको काम सुरु भएको जानकारी दिए। दातृ निकायसँग सहकार्य गरेर पर्यटन विकासका योजनाहरू अघि बढाइरहेको बताउँदै मुख्यमन्त्री कार्कीले नयाँ सत्ता समीकरणपछि सकारात्मक परिवर्तनहरू देखा पर्न थालेको दाबी गरे। यसैबीच, उनले विकास निर्माणका कार्यहरू तीव्र रूपमा अगाडि बढेको उल्लेख गर्दै प्रदेश सरकारको प्राथमिकता विकासका योजनामा केन्द्रित रहेको बताए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार