कोशी प्रदेशसभा सचिव पराजुली भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि अमात्यलाई कामु सचिवको जिम्मेवारी

विहीबार, ०१ फागुन २०८१
विराटनगर : गौतमराज अमात्यले कोशी प्रदेशसभाको कायममुकायम (कामु) सचिवको जिम्मेवारी पाएका छन् । अमात्य उपसचिव एवं प्रदेशसभा सचिवालयका प्रवक्ता हुन् । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुली भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि सभामुख अम्बरबहादुर विष्टले उपसचिव अमात्यलाई कामु सचिवको जिम्मेवारी दिएका हुन् । पशुपतिको जग्गामा बालुवाखानी सञ्चालन गर्दा अनियमितता गरेको मुद्दामा पराजुली दोषी ठहर भएका छन् । अमात्यले आज (बिहीबार) कायममुकायम सचिवको जिम्मेवारी पाएका हुन् । बिहीबारको प्रदेशसभा बैठकमा अमात्यले सचिवको जिम्मेवारी निभाएका थिए । अमात्यले कार्यालयको सिनियर कर्मचारी भएका कारण आफूले कामु जिम्मेवारी पाएको बताए । सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको इजलासले पशुपतिको जग्गामा बालुवाखाली सञ्चालन गर्न दिँदा भ्रष्टाचार गरेको आरोपमा नेकपा (एमाले)का नेता निर्मल कुइँकेल र पराजुलीसहित ९ जनालाई दोषी ठहर गरेको थियो । बालुवाखानी ठेक्का दिँदा पराजुली तत्कालीन जिल्ला विकास समिति काठमाडौंका स्थानीय विकास अधिकारी थिए । निजामति सेवाबाट अवकास लिएपछि उनी २०७६ साल वैशाख १२ गते प्रदेशसभाको सचिव नियुक्त भएका थिए । दोस्रो कार्यकालका लागि २०८१ वैशाख ९ गतेदेखि लागू हुने गरी प्रदेशसभाको सचिवमा नियुक्त भएका थिए । सर्वोच्चको फैसलापछि पराजुली पुनरावलोकनका लागि काठमाडौं पुगेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार