इटहरी : सुनसरीका १२ वटा पालिकामध्ये कार्यसम्पादन मूल्याङ्कनमा बराहक्षेत्र नगरपालिका उत्कृष्ट बनेको छ भने इटहरी उपमहानगरपालिका सबैभन्दा कमजोर बनेको छ ।
सुनसरीकै कान्छो नगरपालिका रहेको बराहक्षेत्र नगरपालिकाले भने सबैभन्दा बढी अंक प्राप्त गरेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको नतिजाअनुसार बराक्षेत्रले ६७ अंक प्राप्त गरेको छ ।
नगरपालिकाका सूचना अधिकारी गौरी रायका अनुसार आन्तरिक आम्दानीको प्राप्ति, विभाज्य कोषमा दाखिला भएको रकम, विनियोजन अनुसारको खर्च बजेट, बेरुजु, आवधिक योजना निर्माणको अवस्था, शैक्षिक र स्वास्थ्य गतिविधि लगायत मूल्याङ्कन गरी सबैभन्दा धेरै अंक दिइएको बताए ।
यसैगरी कार्यसम्पादन मूल्याङ्कनमा सुनसरीभरीमै सबैभन्दा कमजोर पालिका इटहरी उपमहानगरपालिका बनेको छ । सुनसरीका १२ पालिकामध्ये इटहरीले ३९.७ प्रतिशत अंक पाएको छ ।
बराहक्षेत्रपछि इनरुवा नगरपालिकाले ६१.४, हरिनगरले ५८, धरान उपमहानगरपालिकाले ५६.३ प्राप्त गरेको छ । यस्तै, रामधुनी नगरपालिकाले ४९.१ अंक पाएको छ भने भोक्राहा नरसिंह गाउँपालिकाले ४५.९, दुहबी नगरपालिकाले ४५.४, गढी गाउँपालिकाले ४२.२, कोशी गाउँपालिकाले ४१.३, बर्जु गाउँपालिकाले ४४ र देवानगञ्ज गाउँपालिकाले ४० प्रतिशत अंक पाएका छन् ।
कोशी प्रदेशको एकमात्र महानगरपालिका रहेको विराटनगरभन्दा धेरै अर्थात् महत्वांकाक्षी बजेट निर्माण गरेको इटहरीले कार्यसम्पादन मूल्याङ्कनमा सुनसरीभरीमै सबैभन्दा कमजोर पालिका बनेपछि आर्थिक वर्ष २०८२–०८३ मा सङ्घीय सरकारबाट पाउने वित्तीय समानीकरण अनुदान (कार्यसम्पादनमा आधारित) घट्ने निश्चित भएको छ ।
प्रतिक्रिया