जरा केन्द्रीत अभियानमा खट्ने अभियन्ताहरुलाई अभिमुखिकरण गर्दै एमाले

आइतबार, ०४ फागुन २०८१
इटहरी : नेकपा (एमाले) ले आगामी निर्वाचनहरूमार्फत देशको निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने उद्देश्यले सञ्चालन गरिरहेको तीनमहिने जरा केन्द्रीत अभियानका अभियन्ताहरुलाई अभिमुखिकरण कार्यक्रम आयोजना गरेको छ। इटहरीस्थित लायन्स क्लबको सभाहलमा आयोजित कार्यक्रममा करिब १ हजार २ सय अभियन्ताहरू सहभागी भएका छन्। कार्यक्रमको उद्घाटन एमाले उपमहासचिव प्रदीप ज्ञवालीले गरेका छन्। एमाले कोशी प्रदेश सदस्य तथा प्रचार विभाग उपप्रमुख भीमज्वाला राईका अनुसार अभिमुखिकरण कार्यक्रम आज (आइतबार) अपराह्न साढे १२ बजेबाट सुरु भई तीन घण्टासम्म सञ्चालन हुनेछ। कार्यक्रममा पार्टीको आगामी रणनीति र योजना प्रस्तुत गरिएको छ। पार्टीको २०८१ साल बैशाख ८ देखि १० गतेसम्म सम्पन्न प्रतिनिधि परिषद् बैठकका निष्कर्षहरूलाई कार्यान्वयन गर्दै अबको २५ वर्षभित्र नेपाललाई समृद्ध राष्ट्र बनाउने र एमालेलाई राष्ट्रिय शक्ति निर्माण गर्ने लक्ष्य कार्यक्रमको मुख्य विषयवस्तु रहेको छ। एमालेले अब आउने २०८४ साललगायत तीनै तहका सरकारमा बहुमत सुनिश्चित गर्ने उद्देश्यसहित यो अभियानलाई तीव्र बनाएको छ। कार्यक्रमले स्थानीय तहदेखि केन्द्रसम्म पार्टीका नेता, कार्यकर्ता र अभियन्ताहरूलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ। अभिमुखिकरण कार्यक्रममा आगामी निर्वाचनका लागि रणनीतिक योजना, पार्टीलाई जरा तहसम्म सुदृढ बनाउने विधि र संगठन विस्तारका लागि आवश्यक कदमहरूमा छलफल भएको छ। एमालेको यो अभियानले स्थानीयस्तरमा पार्टीको उपस्थितिलाई थप मजबुत बनाउन र भावी कार्यदिशा निर्धारण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार