विराटनगर । नेपाली छात्रा प्रकृति लम्सालको भारतमा शंकास्पद मृत्यु भएको घटनाको विरोधमा विराटनगरमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । प्रकृतिलाई न्याय दिनुपर्ने माग गर्दै आज (मंगलबार) बिहान प्रदर्शन गरिएको हो ।
विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका हुन् । विद्यार्थीहरुले रोडशेष चोकमा निक्कै बेर प्रदर्शन गरे । प्रकृतिलाई न्याय दिनुपर्ने माग गर्दै विद्यार्थीहरुले भारतीय राजदूतावासको विरोध गरेका छन् ।
प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले भारतीय नम्बर प्लेटका सवारीसाधनलाई अवरोधसमेत गरेका थिए । उनीहरुले प्रकृतिलाई न्याय नदिए आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।
भारत ओडिसाको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्यु भएको हो । उक्त प्रकरणपछि नेपाली विद्यार्थीहरु आन्दोलित छन् । विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका ४ विद्यार्थी संगठनले संयुक्त रूपमा आन्दोलनको घोषणा नै गरेर प्रदर्शन गरेका हुन् ।
विद्यार्थी संगठनहरुको सोमबार राति भएको अनौपचारिक भर्चुअल बैठकले आन्दोलनमा उत्रने निर्णय लिएको थियो । उक्त निर्णय अनुसार महेन्द्र मोरङ क्याम्पसका विद्यार्थीले संयुक्त प्रदर्शन गरेका हुन् । आन्दोलनलाई थप सशक्त बनाउने तयारी छ ।
आन्दोलनअन्तर्गत बुधबार जिल्ला प्रशासन कार्यालय मोरङमा ज्ञापनपत्र बुझाउने, भारतीय नम्बर प्लेटका सवारीसाधनलाई नेपालमा प्रवेश निषेध गर्नेलगायतका कार्यक्रम छन् । ओडिसाको भुवनेश्वरस्थित कलेजको होस्टलमा बसेर बी–टेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी प्रकृति लम्साल आइतबार मृत अवस्थामा भेटिएकी थिइन् ।
उनको शंकास्पद मृत्युपछि न्याय माग गर्दै प्रदर्शनमा उत्रिएका विद्यार्थीहरूलाई कलेज प्रशासनले दमन गरेको थियो । उक्त कलेजमा लगभग १ हजार ५ सय नेपाली विद्यार्थी अध्ययनरत छन् । प्रकृतिको मृत्यु प्रकरण र त्यसपछि नेपाली विद्यार्थीमाथि भएको दमनको विरोधमा नेपालभर विद्यार्थीहरुले प्रदर्शन गरिरहेका हुन् ।
प्रतिक्रिया