‘एक्सिलेन्स अवार्ड’ले योगदान पुर्‍याएकाको कदर हुनेमा कोशीका मुख्यमन्त्री कार्की विश्वस्त

बुधबार, ०७ फागुन २०८१
इटहरी : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की ‘कोशी एक्सिलेन्स अवार्ड–२०८१’ ले समाजमा योगदान दिएकाको कदर हुनेमा विश्वस्त देखिएका छन् । प्रदेश खबर दोस्रो वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको अवसरमा शुभकामना जारी गर्दै मुख्यमन्त्री कार्कीले अवार्डको आयोजना हुन लागेकोमा आफूलाई अत्यन्तै खुसी तुल्याएको बताएका हुन् । ‘मोफसलमा रहेका मिडियाहरू आफैँमा सङ्कटग्रस्त भइरहेको परिप्रेक्ष्यमा कोशी एक्सिलेन्स अवार्ड २०८१ आयोजना गर्नु आफैँमा सराहनीय काम हो । यसका माध्यमबाट प्रदेशका विविध क्षेत्रका प्रतिभाहरूको उजागर हुने र समाजमा योगदान दिइसकेका व्यक्तित्वहरूको कदरसमेत हुने मैले विश्वास लिएको छु,’ उनले सन्देशमा भनेका छन् । इटहरी उपमहानगरपालिकाबाट प्रकाशित हुँदै आएको डिजिटल पत्रिका प्रदेश खबर डटकमले आफू दोस्रो वर्ष पुरा गरी तेस्रो वर्षमा प्रवेश गरेको अवसरमा ‘कोशी एक्सिलेन्स अवार्ड–२०८१’ को आयोजना बुधवार(आज) इटहरीस्थित सोल्टी वेस्टन्डमा गर्दै छ । जसमा प्रमुख अतिथिका रूपमा मुख्यमन्त्री कार्कीको आगमन हुनेछ । अवार्ड कार्यक्रममा १३ विधाका उत्कृष्ट १३ जनालाई सम्मान गरिने नयन एड्भरटाइजिङ मिडिया प्रा.लि.का अध्यक्ष पवन अधिकारीले जानकारी दिए । मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकार प्रदेशभित्रका सञ्चारमाध्यमको प्रवद्र्धन र संरक्षण गर्न प्रतिबद्ध रहेको समेत उल्लेख गरेका छन् । उनले प्रदेश सभामा पेस भएको आम सञ्चार विधेयकले पत्रकार र मिडियाको हितमा काम हुने उल्लेख समेत गरेका छन् । उनी थप्छन्, ‘प्रदेश सरकारले यसै वर्ष लगानी सम्मेलन, चिया सम्मेलनका साथै पर्यटन वर्ष २०८२ मनाउने तयारी गरेको छ । यो सन्दर्भमा सञ्चारमाध्यमको सहयोग र सहकार्य महत्त्वपूर्ण हुन्छ । प्रदेश सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्न लागि परिरहेको छ । यो अभियानमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुन्छ ।’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार