इटहरी : प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरेलाई ‘कोशी एक्सिलेन्स अवार्ड २०८१’ मा साहित्य विधाको अवार्ड प्रदान गरिएको छ ।
बुधवार इटहरीस्थित सोल्टी वेस्टेन्डमा भएको समारोहमा प्रमुख अतिथिसमेत रहेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले घिमिरेलाई सो अवार्ड प्रदान गरेका हुन् । उनको अवार्ड शिक्षासेवी साहित्यकार लेखनाथ घिमिरेले ग्रहण गरे ।प्रति मस्तिष्क रोगद्वारा पीडित घिमिरेको जन्म २०३७ असार २१ धनकुटाको कचिडेमा भएको थियो । गरिब परिवारमा अशक्तका रूपमा जन्मिएकी घिमिरेको बाल्यकाल कष्टकर बितेको थियो । तर उनलाई साहित्यले नै उनको सफलताको बाटो कोर्यो । ‘जीवन काँडा कि फूल’ कृतिमार्फत २०६७ सालमा घिमिरेले मदन पुरस्कार समेत पाएकी छन् ।
किशोर उमेरमै साहित्य लेखनमा सक्रिय उनले २०५५ सालमा पहिलो कृति ‘सङ्कल्प’ कविता सङ्ग्रह प्रकाशित गरिन् । त्यससँगै आफ्नै चिता अग्नि शिखातिर २०५७, मान्छे भित्रका योद्धाहरू–२०५७ र नौलो प्रतिबिम्ब–२०६५ कविता सङ्ग्रह प्रकाशित गरिन् ।
उनका एउटा क्वाँटी (विभिन्न विधा) सङ्ग्रह, (अवसान पछिको आगमन–२०५७), एउटा लेख सङ्ग्रह (सम्झनाका बाछिटाहरू–२०५७), एउटा कथा सङ्ग्रह (पर्दा, समय र मान्छेहरू–२०६२) र एउटा निबन्ध सङ्ग्रह (बेमौसमका आस्थाहरू–२०६३) प्रकाशित छन् ।
निराशा र दुःखमा बाँचिरहेकालाई मात्र होइन, कष्टकर जीवन बाँचिरहेकालाई पनि जीवन बाँचिरहनका निम्ति प्रेरित गर्ने घिमिरेलाई ‘कोशी एक्सिलेन्स अवार्ड २०८१’ मा साहित्य विधाको अवार्ड प्रदान गरिएको नयन एड्भरटाइजिङ मिडिया प्रा.लिका अध्यक्ष पवन अधिकारीले जानकारी दिए ।
उक्त मिडिया प्रा.लिद्धारा सञ्चालित प्रदेश खबर डटकमको दोस्रो वार्षिकोत्सवको अवसरमा ‘कोशी एक्सिलेन्स अवार्ड’को आयोजना गरिएको हो । जहाँ १३ विद्याका उत्कृष्ट १३ जनालाई अवार्ड प्रदान गरिएको छ ।
अवार्ड प्राप्त गर्ने व्यक्तिहरूको छनोटका लागि निर्णायक समितिसमेत राखिएको थियो ।
प्रतिक्रिया