इटहरी । युवा उद्यमी पारस लुनियाँलाई ‘कोशी एक्सिलेन्स अवार्ड २०८१’ मा युवा उद्यमी विधाको अवार्ड प्रदान गरिएको छ । बुधवार इटहरीस्थित सोल्टी वेस्टेन्डमा भएको समारोहमा प्रमुख अतिथिसमेत रहेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले लुनियाँलाई सो अवार्ड प्रदान गरेका हुन् ।
कागज र प्याकेजिङ, सजावटी ल्यामिनेट, टिस्यु पेपर, पि.जि.भी.टी टाइल प्लान्ट, भवन निर्माण सामग्री उद्योगमा लगानी गरेका उनी विराटनगर किंग्सका प्रबन्ध निर्देशक समेत हुन् । क्रिकेटमा रुचि राख्ने उनले राष्ट्रिय क्रिकेट टोलीबाट क्रिकेटसमेत खेलिसकेका छन् । नेपालका लागि यू–१९ विश्वकप खेलाडी, एसीसी ट्रफी, आईसीसी ट्रफी प्राप्त गरेका छन् ।
जीवनमा सफलता प्राप्त गर्नका निम्ति अथक परिश्रम आवश्यक पर्ने उनको मत छ । जुनसुकै पेसा, व्यवसायमा पनि निरन्तरताको परिश्रमले नै सफलता प्राप्त हुने र आम मानिस आफ्नो जोसप्रति समर्पित रहनुपर्ने उनले बताए ।
आफूलाई सकारात्मक तर यथार्थवादी व्यक्तिहरूसँग घेर्न आवश्यक रहेको बताउने लुनियाँलाई कोशी एक्सिलेन्स अवार्ड २०८१ मा युवा उद्यमी विधाको अवार्ड प्रदान गरिएको नयन एड्भरटाइजिङ मिडिया प्रा.लिका अध्यक्ष पवन अधिकारीले जानकारी दिए ।
उक्त मिडिया प्रा.लि.द्धारा सञ्चालित प्रदेश खबर डटकमको दोस्रो वार्षिकोत्सवको अवसरमा ‘कोशी एक्सिलेन्स अवार्ड’को आयोजना गरिएको हो । जहाँ १३ विद्याका उत्कृष्ट १३ जनालाई अवार्ड प्रदान गरिएको छ ।
अवार्ड प्राप्त गर्ने व्यक्तिहरूको छनोटका लागि निर्णायक समितिसमेत राखिएको थियो ।
प्रतिक्रिया