इटहरी : नयन एड्भरटाइजिङ मिडिया प्रालिद्दारा सञ्चालित प्रदेश खबरले आफ्नो स्थापनाको तीन वर्ष प्रवेश गरेको अवसर पारेर आयोजना गरेको ‘कोशी एक्सिलेन्स अवार्ड २०८१’ मा कोशी प्रदेशका १३ विधाका उत्कृष्ट व्यक्तिहरू विभूषित भएका छन् ।
बुधवार साँझ इटहरीको सोल्टी वेस्टेन्डमा आयोजित कार्यक्रममा कोशी प्रदेशमा जन्मिएर विभिन्न विधामा उत्कृष्ट योगदान पु¥याएका व्यक्तिहरूलाई विभूषित गरिएको हो ।
जसमा शिक्षा विधातर्फ प्रा.डा. टङ्कप्रसाद न्यौपाने, स्वास्थ्य विधातर्फ डा.ज्ञानेन्द्रमान सिंह कार्की, पत्रकारितातर्फ विष्णु निष्ठुरी, साहित्य विधातर्फ झमक घिमिरे, सामाजिक विधातर्फ गीता गौतमलाई अवार्ड प्रदान गरियो ।
यस्तै, कृषि तथा महिला उद्यम विधाबाट शान्ता बास्कोटा, खेलकुद विधातर्फ दिलीप राई, बैङ्किङ बिधातर्फ ज्ञानेन्द्रप्रसाद ढुङ्गाना, पर्यटन विधातर्फ भविष श्रेष्ठ, सूचना तथा प्रविधि विधातर्फ राजन लम्साल, कर्पोरेट विधाबाट महेश जाजु, युवा उद्यम विधाबाट पारस लुनियाँ र स्टार्टअप विधामा आयुष भगत अवार्ड प्रदान गरिएको हो ।
उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले अवार्ड प्रदान गरे ।
यसैगरी वार्षिकोत्सवको अवसरमा १२ जनालाई सम्मान समेत गरिएको छ । सम्मानित हुनेमा नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी, नेपाल सरकारका प्रथम महिला मुख्यसचिव लीलादेवी गड्तौला, श्रमजीवी नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन अध्यक्ष भीम ज्वाला राई छन् ।
यस्तै, इलाम नगरपालिकाकी उपप्रमुख विष्णु कमारी लिम्बू (दहाल), अग्रज पत्रकार गोविन्द चन्द्र क्षेत्री, शिक्षा सेवी चन्द्र भण्डारी, टाइम्स पब्लिकेशनका पुरुषोत्तम दाहाल, नेपालमा सबैभन्दा अग्ला व्यक्तिका रूपमा परिचय स्थापित गराउने राजन अधिकारी र पर्यटन व्यवसायी सुनील भुसाल रहेका छन् ।
यस्तै, संस्थाहरू कामधेनु दुग्ध विकास सहकारी संस्था लिमिटेड, माया घर नेपाल र नव दृष्टि आँखा अस्पताललाई सम्मान गरिएको हो ।
कम्पनीका अध्यक्ष पवन अधिकारीका अनुसार अवार्ड प्राप्त गर्ने व्यक्तिका लागि निर्णायक समिति समेत चयन गरिएको थियो । उक्त समितिले सिफारिस गरेका आधारमा छनोट गरिएको उनले जनाए ।
कार्यक्रममा प्रदेश खबरले वार्षिकोत्सवका अवसरमा गरेको सुनसरीका तीन सय १३ जना संचारकर्मीहरुको निःशुल्क दुर्घटना बिमा सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरिँदा कोशी प्रदेशको धार्मिक पर्यटन सम्बन्धी कार्यपत्र समेत प्रस्तुत गरिएको छ ।
कार्यक्रममा कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारी, पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डल, कांग्रेस केन्द्रीय सदस्य राजीव ढुङ्गाना, नेपाल पत्रकार महासङ्घका महासचिव रामप्रसाद दाहाल, महासङ्घ कोशीका अध्यक्ष भरत खड्कालगायतले सम्बोधन समेत गरेका थिए ।
मिडियाको क्षेत्रबाट गरिएको कोशी प्रदेशकै प्रदेशकै पहिलो एक्सिलेन्स अवार्ड समारोहका २५ तस्बिरहरू नियालौँ:
प्रतिक्रिया
लेखकको बारेमा
खेमराज सापकाेटा
सहायक समाचार सम्पादनको भूमिकामा रहेका सापकोटा समसामयिक विषयमा कलम चलाउँछन् ।
प्रतिक्रिया