विराटनगर । विराटनगरका पुराना र नयाँ सर्जकका कविता समेटेर तयार पारिएको संग्रह ‘विराटनगरका कवि र कविता’ सार्वजनिक गरिएको छ ।
साहित्यकार लक्ष्मी पोखरेलद्वारा सम्पादित पुस्तक शनिबार आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो । उक्त पुस्तकमा वि.सं.१९५३ देखि २०४९ सम्म जन्मिएका विराटनगरका १८३ जना कविका कविता समावेश गरिएका छन् ।
पूर्वाञ्चल साहित्य प्रतिष्ठानद्वारा आयोजित कार्यक्रमका प्रमुख अतिथि साहित्यकार कविराज न्यौपानेले यो कृतिले विराटनगरको साहित्यिक इतिहास झल्कने बताए ।
पूर्वाञ्चल साहित्य प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलले कृति पूर्वाञ्चल साहित्य प्रतिष्ठानले प्रकाशन गरेको १००औं कृति रहेको जानकारी दिए ।
साहित्यकार, समालोचक दधिराज सुवेदीले कृति विराटनगरको साहित्यिक इतिहासमा महत्वपूर्ण अभिलेख भएको बताए ।
प्रतिष्ठानका महासचिव गोकुल अधिकारीले विराटनगरमा समग्र जीवन समर्पण गर्नेदेखि लिएर जीवनको केही कालखण्ड यहाँको माटोमा व्यतीत गरेका स्रष्टाहरुको कविता कृतिभित्र समेटिएको उल्लेख गरे ।
सम्पादक पोखरेलले केही अग्रज स्रष्टाहरुका साथै घरपरिवारको साथ सहयोगका कारण आफूले यस्तो खोजमूलक कृति तयार पार्न सकेको बताइन् ।
प्रतिष्ठानका उपाध्यक्ष भूषण ढुंगेलले स्वागत मन्तव्य प्रकट गरेका थिए । साहित्यकार देवी पन्थी, लक्ष्मी उप्रेती तथा गुराँस पुस्तकालयका पूर्वअध्यक्ष एवं नेपाली कांग्रेस नगर समिति अध्यक्ष दीपक चापागाईं लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा कविहरु सविता गौतम दाहाल, सीमा आभास, राधिका गुरागाई, भरत गुरागाई, प्रिन्स प्रमोद ढकाल, मञ्जुश्री गिरी, लक्ष्मी रायमाझी, रोहिणी रसिक, ओम आचार्य, स्वयम्भुनाथ कार्की, गोपाल निर्भिक, राधा भट्टराई, भीम कोइराला, लोचन रिजाल, शोभा लामा तथा स्वीकृति रेग्मी मुना लगायतले कविता वाचन गरेका थिए ।
प्रतिक्रिया