काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले ताप्लेजुङको पाथीभर (मुकुम्लुङ) मा केबलकार निर्माणका कार्यहरू तत्कालका लागि रोक्न माग गरेकी छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले तत्काल निर्माण कार्य रोकी आन्दोलनतर पक्षसँग वार्ता गरी सहमति गर्न र थुनामा रहेका नागरिकलाई तत्काल रिहा गर्न माग गरेकी हुन् ।
उनले भनिन्,‘पटक पटक प्रहरी प्रशासन र नागरिकबिच झडप हुने, आन्दोलनकारीहरू घाइते हुनेहुँदै आइरहेको छ । गोलीसमेत चल्ने र करोडौँको क्षति हुने गरेको छ । हिजो मात्र त्यहाँ अशान्त र असामान्य स्थिति देखापर्यो । अहिले निषेधाज्ञा लागेको छ । यसरी राज्यको अर्कमर्णयताका कारण नागरिकहरू ‘एस’ केवलकार र ‘नो केवलकार’ को रूपमा विभाजित भएका छन् । अराजक भएका छन् ।
आक्रोशित छन् । तर,सरकारले उचित निकास दिन सकेका छैनन् । समाजवादको नारा भजाउने पार्टीहरू नै सरकारमा छन्, ‘सरकारले जनताप्रति देखाएको अभिभावकत्व यही हो त रु । त्यहाँ संरचनाहरु बनाउँदा विवादरहित बनाउनुपर्ने दायित्व त्यहाँको सम्बन्धित आयोजना समिति र राज्यको हो । तर, त्यसो भएन । यसअघि पनि सम्झौता भएको थियो । त्यसो हुन सकेन ।
माघ २२ गते पनि सम्झौता भयो, कार्यान्वयन हुन सकेन । निशर्त रिहा गर्ने भनिएकोमा धरौटीमा रिहा गरिएको छ । सहमति उल्लङ्घन भएको छ । नागरिकप्रति विश्वास डगमगाएको छ । जुन ठाउँमा विकास निर्माणको काम हुँदैछ । त्यही ठाउँमा नागरिकलाई लाठी प्रहार गरेर, नागरिकमाथि गोली प्रहार गरेर, जनता मारेर गरिने विकासलाई विकास भन्ने कि विनास ? । हामी समग्र पार्टीको तर्फबाट यो निर्माण कार्य तत्काल रोक्न माग गर्दछौँ ।’
साथै उनले आन्दोलनकारी र सरकार बिच भएको सहमति सरकारले उल्लङ्घन गरेको बताइन् । आन्दोलनकारीलाई गोली हानेर विकास नहुने उनको भनाइ छ ।
प्रतिक्रिया