इटहरी : नेकपा माओवादी केन्द्रको जनतासँग माओवादी तराई मधेस जागरण अभियान कोशी प्रदेशस्थित झापाबाट उद्घाटन गरिएको छ ।
जिल्लाको कचनकवल गाउँपालिकाको हुकाहुकी चोकमा सोमबार विशेष समारोहकाबीच पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अभियानको उद्घाटन गरेका हुन् ।
झापाबाट सुरू भएको हुलाकी मार्ग केन्द्रित जागरण अभियानको चैत ७ गते कञ्चनपुरमा पुगेर समापन हुने माओवादीले उल्लेख गरेको छ । जसअनुसार कोशी प्रदेश अन्तरगत झापामा फागुन १२ गते (आज), मोरङमा फागुन १३ गते, सुनसरीमा फागुन १५ गते अभियान सञ्चालन हुनेछ ।
यस्तै, मधेस प्रदेशअन्तर्गत सप्तरीमा फागुन १६, सिराहामा फागुन १७, धनुषामा फागुन १८, महोत्तरीमा फागुन १९, सर्लाहीमा फागुन २१, रौतहटमा फागुन २२, बारामा फागुन २३, पर्सामा फागुन २४ गते अभियान चल्नेछ ।
वागमती प्रदेशको चितवनमा फागुन २५, गण्डकी प्रदेशको नवलपुरमा फागुन २६, लुम्बिनी प्रदेशको परासीमा फागुन २७, रुपन्देहीमा २८, कपिलवस्तुमा चैत २, दाङमा चैत ३, बाँकेमा चैत ४, बर्दियामा चैत ५ गते अभियान चल्नेछ ।
यस्तै, सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा चैत ६ गते र कञ्चनपुरमा चैत ७ गते पुगेर अभियान सम्पन्न गरिने जनाइएको छ । अभियान सकिएपछि वैशाखमा मध्य पहाडी लोक मार्ग केन्द्रित जनतासँग माओवादी पूर्वपश्चिम जागरण अभियान सञ्चालन हुनेछ ।
प्रचण्डको गम्भीर आरोप ‘वर्तमान सरकार घुस खाएर बनेको सरकार हो’
अभियानलाई उद्घाटनका क्रममा प्रचण्डले वर्तमान सरकार पुँजीपतिहरूको घुस खाएर बनेको सरकार रहेको गम्भीर आरोप लगाएका छन् । ‘मैले यो कुनै तर्कका रूपमा मात्रै भनेको छैन तथ्य हो,’ प्रचण्डले भने ।
आफ्नो नेतृत्वको सरकारले भ्रस्टाचरको विपक्षमा कदम चालिरहेको अवस्थामा फरार अभियुक्त गिरफ्तार भएपछि नयाँ गठबन्धनको सृजना भएको प्रचण्डको दाबी छ । उनले जनताका बलमा सरकारमा आउने प्रतिबद्धता अनुसार अभियानको थालनी भएको पनि प्रचण्डको भनाइ छ ।
[caption id="attachment_88225" align="alignnone" width="1600"] केराको पातमा खाना खाँदै प्रचण्डसहितका नेता ।[/caption]
सरकार संविधानअनुसार बनेको सरकार नभएको र अलोकतान्त्रिक सरकार पनि रहेको प्रचण्डको दाबी छ ।
उनले झापाको सुकुम्बासी समस्या समाधान गर्ने र किसानको समस्या समाधान गर्ने कुरामा आफूहरू लाग्ने बताउँदै पहिचानको मुद्दालाई अगाडि बढाउने उनले बताए । उनले भने ‘जुन जिल्लामा जान्छौँ त्यहाँका जिल्लाका जनताका समस्या सङ्कलन गरेका छौँ ।’
अभियानको उद्घाटनअघि नेताहरूले जनताका समस्या बुझ्दै जनतासँगै खाना समेत खाएका थिए । समारोहलाई पार्टीका शीर्ष नेतृत्वले सम्बोधन गरेका छन् ।
प्रतिक्रिया
लेखकको बारेमा
खेमराज सापकाेटा
सहायक समाचार सम्पादनको भूमिकामा रहेका सापकोटा समसामयिक विषयमा कलम चलाउँछन् ।
प्रतिक्रिया