ताप्लेजुङ : ताप्लेजुङको फुङलिङ बजार र काफ्लेपाटी क्षेत्रमा लगाइएको निषेधाज्ञा गएराति ११ बजेदेखि हटाइएको छ ।
जिल्ला सुरक्षा समितिको सिफारिशअनुसार तीन दिनदेखि लागू गरिएको निषेधाज्ञा हटाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ ।
प्रशासनले गत माघ ११ गते बिहानदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको थियो । फुङलिङ नगरपालिका बजार क्षेत्रमा सम्भावित प्रदर्शन, जुलुस, हुलदङ्गा, झडप तथा शान्ति सुरक्षामा असर पार्ने परिस्थितिलाई मध्यनजर गर्दै निषेधाज्ञा लगाइएको थियो ।
ताप्लेजुङको पाथीभरामा केबलकार परियोजनाको समर्थन र विरोधमा उत्रिएका समूहहरूबीच झडप भएपछि प्रशासनले निषेधाज्ञा लागू गरेको थियो ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ‘क’ अनुसार, फुङलिङ बजार र काफ्लेपाटी क्षेत्रका चार किल्लाभित्र पाँच जनाभन्दा बढी व्यक्तिहरू भेला भई सभा, जुलुस, प्रदर्शन तथा घेराउ गर्न निषेध गरिएको थियो ।
निषेधाज्ञा हटेपछि फुङलिङ बजार तथा प्रभावित क्षेत्रमा जनजीवन सामान्य हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया