काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनमा ४० वर्षमुनिका युवालाई प्रतिनिधि बनाइने भएको छ ।
देशभरबाट करिब दुई हजार एक सय जना प्रतिनिधि सहभागी हुने महाधिवेशनमा ४० वर्षमुनिका युवा पनि प्रतिनिधिका रुपमा सहभागी हुने भएका हुन् ।
एमाले केन्द्रीय सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीका अनुसार एउटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट चार जना प्रतिनिधि चयन हुनेमा एक जना अनिवार्य भनिएको छ । जसमा दुई जना खुला, एक जना महिला र एक जना ४० वर्षमुनिका युवा गरेर चार जना प्रतिनिधि छनोट हुनेछन् ।
एक प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा एक हजार २०० पार्टी सदस्य बराबर चार जना महाधिवेशन प्रतिनिधि सहभागी हुन पाउने एमालेले निर्णय गरेको छ । उनले मापदण्डअनुसार १६५ निर्वाचन क्षेत्रबाट एक–एक जनाका दरले, अनेरास्ववियु र युवासङ्घ नेपालबाट पाँच–पाँच जनाका दरले ४० वर्षमुनिका प्रतिनिधि सहभागी हुने सुनिश्चित गरिएको बताए ।
अन्य कमिटीबाट पनि प्रतिस्पर्धा गरेर महाधिवेशनमा प्रतिनिधि हुने सक्ने उनको भनाइ छ । महाधिवेशनका लागि एकतिहाइ महिला प्रतिनिधि हुने सुनिश्चिता पनि पार्टीले गरेको छ ।
एमालेले महाधिवेशनका लागि प्रनिनिधि चयन मङ्सिर १३ गते एकैदिन देशैभरि गर्ने निर्णय गरेको छ । एमाले महाधिवेशन आगामी मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने भएको छ ।
प्रतिक्रिया