कोशी विचार उत्सव विराटनगरमा सुरु, मुख्यमन्त्रीले भने,‘राष्ट्रिय पुँजीको निर्माण आवश्यक’

विहीबार, १५ फागुन २०८१
विराटनगर : कोशी विचार उत्सव विराटनगरमा सुरु भएको छ । बिहीबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उत्सवको उद्घाटन गरेका हुन् । कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले समाजवादोन्मुख समाज निर्माण गर्न राष्ट्रिय पुँजीको निर्माण हुनुपर्ने बताएका छन् । उनले राष्ट्रिय पुँजी निर्माण गर्न कृषि, पर्यटन र ऊर्जाका क्षेत्रमा लगानी आवश्यक रहेको बताएका हुन् । मुख्यमन्त्री कार्कीले हिन्दुहरूको आस्थाका केन्द्र पशुपतिनाथ र शान्तिका दूत गौतम बुद्ध जन्मेको स्थान लुम्बिनीमा धार्मिक पर्यटकहरू उतार्न सकियो भने मुलुक निर्माणमा ठुलो सहयोग पुग्ने बताए । विचार र नीतिको बहसबाट मुलुकलाई समृद्धतर्फ लैजान सकिने धारणा व्यक्त गरेका कार्कीले आगामी दिन कोशी चतरामा हुने कुम्भमा स्नानका लागि लाखौँ श्रद्धालु एवं भक्तालुहरू ल्याउने वातावरण निर्माणका लागि सरकारले काम गरिरहेको उल्लेख गरेका छन् । मधेस प्रदेशका पूर्व प्रदेश प्रमुख डा.राजेश अहिराजले विचारले नै मानिसको संस्कार बुझिने भएकाले असल विचारबाट मात्र असल समाजको परिकल्पना गर्न सकिने उल्लेख गरेका छन् । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले कोशी प्रदेश भूगोल, इतिहास र सम्पदाले समृद्ध रहेको बताए । यस्तै कोशी प्रदेशका प्रहरी नायब महानिरीक्षक राजन अधिकारीले नागरिक सुरक्षित भएमा मात्र सार्थक विचार आउने भएकाले सुरक्षाकै जगमा समृद्ध हासिल गर्न सकिने कुरामा जोड दिएका छन् । विचार उत्सव आगामी तीन दिनसम्म चल्ने छ । जहाँ विचारहरूको मन्थन हुने आयोजकले जनाएको छ । राससको सहयोगमा

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार