मोरङ नेविसंघमा लफडा, सस्थापन पक्षले बनायो मोहमद तनवीरलाई अध्यक्ष

शुक्रबार, १६ फागुन २०८१
मोरङ । स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन नजिकिँदै गर्दा नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी संघ मोरङ जिल्लाको विवाद चरम उत्कर्षमा पुगेको छ । बिहीबार बिहान विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा नेविसंघ आबद्ध विद्यार्थीबिच झडप भएपछि उत्पन्न भएको परिस्थिति पछि संस्थापन पक्षले जिल्ला सभापति नै फेरिदिएको हो । नेविसंघको केन्द्रीय कार्यसमितिको लेटरप्याडमा १३ जना केन्द्रीय सदस्यको हस्ताक्षरमा विराटनगरकै मोहमद नतवीरलाई जिल्ला अध्यक्षको रूपमा काम गर्न भनिएको छ । पत्रमा लेखिएको छ ‘नेपाल विघार्थी संघको विधान (२०२७) बमोजिम तपाईँलाई सम्पूर्ण जिम्मेवारी र अधिकारीका साथ नेपाल विद्यार्थी संघको जिल्ला अध्यक्षको रूपमा चयन गरिएको छ । नेपाल विघार्थी संघको विधि–विधान र मर्यादा भित्र रहेर संघलाई गतिशील बनाउनुहुनेछ भन्ने विश्वास लिएका छौँ ।’ खास गरी बिहीबार बिहान महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा कांग्रेसका संस्थापन पक्षका विद्यार्थी नेताहरूले इतर पक्षका सभापति समेत रहेका सरोज पोखरेलमाथि आक्रमण गरेका थिए । सभापतिले क्याम्पसको इकाई समितिसँग कुनै पनि सल्लाह नगरी बाहिरका मानिस ल्याएर इकाई समिति बनाएको उनीहरूको आरोप रहेको थियो । त्यसपछि उत्पन्न भएको विवाद उत्कर्षमा पुगेको हो । इतर समूहका विद्यार्थी नेताहरूले विराटनगरकै संजोग गौतमलाई इकाई सभापति बताएका थिए । तर, संस्थापन पक्षका विद्यार्थी नेताहरूले जिल्लाकै सभापतिलाई परिवर्तन गरिदिएका हुन् । यस विषयमा बुझ्दा हस्ताक्षर समेत गरेका नेविसंघका केन्द्रीय सदस्य रोशन पराजुलीले प्रदेश खबरसँग भने, ‘महेन्द्र मोरङमा जसरी समानान्तर रूपमा कमिटी गठन गरियो त्यसपछि जिल्लामा यस्तो अवस्था भएको हो ।’ स्ववियू निर्वाचन समेत आइरहेको यस्तो अवस्थामा नेविसंघको विवाद उत्कर्षमा पुग्दा पर्ने असरका बारेमा राखिएको जिज्ञासामा पराजुली थप्छन् । ‘चुनावको मुखमा इकाई समितिमा सभापति नै गएर त्यस्तो कमिटी निर्माण गरिन्छ भने, त्यसको जिम्मेवारी त सभापतिले नै लिनुपर्ने हुन्छ नि !’ उनले यस विवादको निकास भनेको समिति गठन गरेर समाधान गर्न सकिने समेत बताएका छन् । क कसले गरेका छन् हस्ताक्षर ? अङ्कित भट्टराई सुबिन पराजुली अभिषेक भट्टराई विकास भण्डारि दिपेन रौनियार रोशन पराजुली लक्ष्मीनारायण अधिकारी (सरोज) प्रमिला ढकाल (एरिका) सुमन ढकाल दिवाकर यादव विवेक लिम्बु प्रज्वल पौडेल https://pradeskhabar.com/?p=88651

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार