निजि विद्यालय हटाउन सकिँदैन : मुख्यमन्त्री कार्की

शनिबार, १७ फागुन २०८१
धरान : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले निजि विद्यालयहरूलाई अहिले हटाउन नसकिने बताएका छन्। शनिबार धरान उपमहानगरपालिका–१५ मा रहेको शिक्षासदन स्कुलको ६९ औं वार्षिक उत्सव तथा अभिभावक दिवस समारोहमा बोल्दै उनले निजि विद्यालयहरू तत्काल खारेज गर्न सम्भव नरहेको स्पष्ट पारे। मुख्यमन्त्री कार्कीले निजि विद्यालयहरू कानुनी प्रक्रिया अनुसार सञ्चालन भएको र हाल सरकारी विद्यालयभन्दा राम्रो शैक्षिक गुणस्तर प्रदान गरिरहेको बताए। निजि विद्यालयले शिक्षामा ३० प्रतिशतभन्दा बढी लगानी गरिरहेका कारण यसलाई तत्काल हटाउँदा विद्यार्थीको भविष्य प्रभावित हुन सक्ने उनको भनाइ थियो। सरकारी विद्यालयहरूले गुणस्तर सुधार गर्दै निजि विद्यालयहरूसँग प्रतिस्पर्धा गर्न सके, निजि विद्यालय आफै हट्ने उनले बताए। सरकारले सरकारी विद्यालयहरूमा शिक्षाको विकासका लागि ठूलो लगानी गरिरहेको उल्लेख गर्दै उनले भवन निर्माण, पाठ्यपुस्तक, शिक्षक तलब, छात्रवृत्ति जस्ता क्षेत्रमा व्यापक खर्च भइरहेको बताए। उनले विद्यालय व्यवस्थापन समितिहरूले आफ्नो दायित्व सही रूपमा निर्वाह गरेमा सरकारी विद्यालयहरू पनि निजि विद्यालयभन्दा कम नहुने धारणा व्यक्त गरे। त्यसैगरी, धरानको प्रमुख समस्या पानी रहेको भन्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकार यसलाई समाधान गर्न प्रतिबद्ध रहेको बताए। उनले गत वर्ष चारवटा डिप बोरिङ निर्माण गरिएकाले केही सहज भएको उल्लेख गर्दै, समस्या दीर्घकालीन रूपमा समाधान गर्न संघीय सरकारसँग समन्वय भइरहेको जानकारी दिए। कार्यक्रममा कोशी प्रदेशसभा सदस्य विजय राई, यशोदा कायस्थ, पूर्व सांसद जयकुमार राई, धरान–१५ का वडाध्यक्ष नरेश ईवारम लगायत शिक्षासदन स्कुलका शिक्षक, विद्यार्थी र अभिभावकको उपस्थिति रहेको थियो। यस अवसरमा जेहेन्दार, दलित तथा प्रथम भएका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको थियो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार