विराटनगर :मोरङको बेलबारीमा घाँस लिनलाई सँगै जंगल गएका साथीले काटेको रुखको हाँगाले लागेर आज (सोमबार) एकको मृत्यु भएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले घाँस काट्ने क्रममा रुखको हाँगाले लागेर बेलबारी नगरपालिका–४ का ५७ वर्षीय टेकप्रसाद भट्टराईको घटनास्थलमै मृत्यु भएको जानकारी दिए । उनका अनुसार भट्टराई साथीहरुसँग बाख्रालाई घाँस काट्नका लागि देवीथान सामुदायिक वनमा गएका थिए ।
बेलबारी–४ का ४० वर्षीय बालकृष्ण आचार्यले काटेको कुम्भीको रुखको हाँगाले भट्टराईको टाउकोमा लागेको जोशीले बताए ।
इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा पठाएको छ ।
घटनालगत्तै प्रहरीले आचार्यलाई नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान सुरु गरिएको डीएसपी जोशीले बताए ।
प्रतिक्रिया