धरान : सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर १७ स्थित सियोन मार्गबाट लागू औषधको ठूलो परिमाण सहित एक महिला पक्राउ परेकी छन्।
धनुषा जनकपुर घर भई हाल धरानको प्रविन राईको घरमा डेरा गरी बस्दै आएकी वर्ष ४० की ममता भगतलाई प्रहरीले लागू औषध सहित नियन्त्रणमा लिएको हो।
गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले वैशाख २० गते राति करिब १ बजे भगत बसोबास गर्दै आएको कोठामा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा प्रहरीले ट्रामाडोल ३०२० क्याप्सुल, स्पास्पेन ३८ चक्की र ओपाडोल ३२३० चक्की लुकाई छिपाई राखिएको अवस्थामा फेला पारेको हो।
प्रहरीका अनुसार बरामद लागू औषधहरू बिना चिकित्सकको सिफारिस प्रयोग गर्नु गैरकानुनी हो र दुरुपयोगको उच्च सम्भावना रहेको छ।
ममता भगतलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा राखी लागू औषध मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
प्रहरीले लागू औषध कारोबारमा संलग्न अन्य व्यक्तिहरुको खोजी कार्य पनि तीव्र पारेको जनाएको छ।
प्रतिक्रिया