जनजीविकाका सवालमा नेकपा एसद्धारा कोशी प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

आइतबार, २१ बैशाख २०८२

विराटनगर : जनजीविकाका सवालहरू उठाउँदै नेकपा एकीकृत समाजवादीको कोशी प्रदेश कमिटीले मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई ज्ञापनपत्र बुझाएको छ। नेकपा एकीकृत समाजवादीको देशव्यापी अभियान अन्तर्गत विराटनगरमा आयोजित कार्यक्रममा उक्त ज्ञापनपत्र बुझाइएको हो।

प्रदेश कमिटीकी अध्यक्ष सरिता खड्काको नेतृत्वमा पुगेको प्रतिनिधिमण्डलले मुख्यमन्त्रीलाई विभिन्न बुँदामा आधारित मागपत्र बुझाएको थियो। उक्त ज्ञापनपत्रमा तत्काल कार्यान्वयन गर्न सकिने विषयहरूदेखि दीर्घकालीन नीति आवश्यकतासम्मका विषयहरू समेटिएको छ।

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकार जनताको पीडा र मागप्रति गम्भीर रहेको बताउँदै सक्ने सीमा भित्रका मागहरू तत्काल कार्यान्वयन गर्ने र अन्य मागहरूलाई चरणबद्ध रूपमा पूरा गर्ने प्रतिबद्धता जनाए। उनले प्रदेश सरकारले जनतामुखी नीति कार्यक्रम र बजेट निर्माणको प्रक्रिया अघि बढाइरहेको उल्लेख गरे।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रीय नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईको पनि उपस्थिति रहेको थियो। नेता राईले अहिले नीति तथा कार्यक्रम र बजेट बनाउने समय भएकाले जनताको जीवनस्तरसँग जोडिएका मागहरू प्रस्तुत गर्नु उपयुक्त समय रहेको बताए। उनले प्रदेश सरकारले ती मागप्रति सकारात्मक ढंगले ध्यान दिनुपर्नेमा जोड दिए।

नेकपा एकीकृत समाजवादीले देशभर जनजीविकाका सवाल उठाउँदै सरकारहरूमाथि दबाब सिर्जना गर्ने अभियान सञ्चालन गरिरहेको छ। सोही सन्दर्भमा कोशी प्रदेशमा पनि पार्टीले मुख्यमन्त्री समक्ष माग प्रस्तुत गरेको हो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार