रामेछाप ; रामेछापको सुन्तलाको राम्रो उत्पादन हुने मन्थली नगरपालिका–१४ फुलासीका किसानलाई उन्नत जातका सुन्तलाका बिरुवा वितरण गरिएको छ ।
मन्थली नगरपालिका र पहाडी समाज कल्याण केन्द्र दोरम्बा रामेछापको साझेदारीमा सञ्चालित हेफर परियोजनाले किसानलाई सुन्तलाका बिरुवा वितरण गरेको हो ।
स्थानीय पशुपति महिला स्वावलम्बन समूहका महिलालाई २२ वटाका दरले सात सय बिरुवा वितरण गरिएको पहाडी समाज कल्याण केन्द्रका अध्यक्ष रत्नप्रसाद कँडेलले जानकारी दिए ।
महिलाहरूलाई आयआर्जनमा सहयोग पुगोस् भनेर मागको आधारमा बिरुवा वितरण गरिएको उनले बताए ।
सो बस्तीका किसानले व्यावसायिक रूपमा सुन्तला खेती गर्दै आएका छन् । एउटै किसानले वर्षको ६÷७ लाख रुपैँयासम्मको सुन्तला बिक्री गर्दै आएका छन् ।
उन्नत जातको बिरुवाले किसानलाई नयाँ बिरुवा उत्पादन र बगैँचा विस्तारमा थप सहयोग पुग्ने विश्वास लिइएको छ ।
किसानलाई व्यावसायिक बन्न थप सहयोग पुगोस् भनेर बिरुवा वितरणको कार्यक्रम राखिएको वडाध्यक्ष मोतीलाल तामाङले बताए ।
उनले व्यावसायिक सुन्तला खेतीबाट सो पेसामा लागेकाले राम्रो आम्दानी गरेका उदाहरण दिँदै अन्य किसानलाई पनि व्यावसायिक बन्न आग्रह गरे ।
प्रतिक्रिया