ईभिनिङ वाकमा गएको मौका छोपेर इटहरीमा ६ तोला सुन चोरी

आइतबार, २१ बैशाख २०८२
साङ्केतिक तस्बिर

इटहरी ः सुनसरीको इटहरी उपमहानगरपालिका–२० बुद्धचोकस्थित एक निजी घरमा चोरी भएको छ ।  घरधनी नारायण श्रेष्ठ वैशाख १९ गते शुक्रवार बेलुकी ७ बजेदेखि ९ः३० बजेसम्म ईभिनिङ वाकका लागि बाहिर गएका बेला घरमा चोरी भएको हो।

प्रहरीका अनुसार श्रेष्ठको घरको ढोका चाबी नलगाई घर छाडिएको मौका छोपी अज्ञात व्यक्तिले घरभित्र प्रवेश गरी गरगहना चोरी गरेको प्रारम्भिक अनुमान गरिएको छ।

श्रेष्ठ घर फर्किएपछि उनले घरमा बस्ने दुई जना महिलाका गरगहना हराएको बताएका छन् । चोरी भए मध्ये नारायण श्रेष्ठकै दिदी लक्ष्मी श्रेष्ठको ४ तोला सुन र ६ तोला चाँदीका गरगहना रहेको छ ।

त्यसै गरी, सोही घरमा डेरा गरी बस्दै आएकी ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका–३ की सरु लिम्बूको २ तोला सुन समेत चोरी भएको  प्रहरीले जनाएको छ।

चोरीको जानकारी वैशाख २० गते शनिवार साँझ ५ बजे प्रहरी चौकी तरहरामा गराइएको थियो।

जानकारी पाएलगत्तै प्रहरी निरीक्षक टिका नेपालको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको छ । अहिले घटनाबारे अनुसन्धान भइरहेको र चोरको पहिचान तथा पत्ता लगाउने कार्यमा प्रहरी जुटिरहेको तरहरा प्रहरी चौकीले जनाएको छ।

घटनास्थल प्रहरी चौकी तरहराबाट करिब एक किलोमिटर पश्चिम दक्षिणतर्फ पर्छ। प्रहरीका अनुसार घटनास्थलको मुचुल्का तयार पारेर वरपरका क्षेत्रका सिसिटिभी फुटेज सङ्कलन गरी अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

नवीन दहाल
लेखकको बारेमा
नवीन दहाल

सम्बन्धित समाचार