इटहरीमा दिउँसै घर फोरेर सुन र नगद चोरी

सोमबार, २२ बैशाख २०८२

इटहरी : सुनसरीको इटहरी उपमहानगरपालिका–७ बज्रामा दिउँसै घर फोरेर सुन र नगद चोरी भएको छ।

हिजो  (आइतबार) दिउँसोको समयमा घरधनी भूपनारायण भण्डारीको घरमा कोही नभएको अवस्थामा बाहिर गएका बेला अज्ञात व्यक्तिले घरको ढोका फुटाएर घरभित्र प्रवेश गरेको थियो। 

चोरले कोठाभित्र रहेको दराजको पनि चाबी फुटाएर दराजमा राखिएको करिब ३ तोला सुनका गरगहना र नगद एक लाख रुपैयाँ चोरी गरेको भण्डारीले बताए।

चोरीको घटना भएको थाहा पाएपछि भण्डारीले तत्कालै दिउँसो ३ बजे इलाका प्रहरी चौकी बालग्राममा जानकारी गराएका थिए। जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय इटहरीबाट प्रहरी नायब निरीक्षक दिपेश भण्डारीको नेतृत्वमा र बालग्राम प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक सोमनाथ ढुङ्गानाको कमान्डमा दुई छुट्टाछुट्टै टोली घटनास्थलमा खटिइएको थियो।

प्रहरीको अनुसार चोरी भएको घर बालग्राम प्रहरी चौकीबाट करिब २ किलोमिटर पूर्व–दक्षिण दिशामा पर्छ। हाल प्रहरीले घटनास्थलबाट आवश्यक प्रमाण सङ्कलन गरी अनुसन्धान तीव्र बनाएको छ। चोरीमा संलग्न व्यक्ति वा समूहको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

यसरी दिउँसै घर फोरेर भएको चोरीको घटनाले स्थानियवासीहरूमा त्रास फैलिएको छ। 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार