नेपालटार: मङ्गलवारे सडक मर्मतमा प्रयोग गरिएको सामग्री निकालेर पुनः गुणस्तरीय लगाउने सहमति भएर तत्काल मर्मत अगाडि बढाउने सहमति भएको छ । कालोपत्रे बने लगत्तै भत्किएर हिलाम्मे बनेको सडक मर्मत गुणस्तरीय नभएको भन्दै स्थानीयले अवरोध गरेका थिए ।
हिलोमा ग्राभेल गर्ने काम भइरहेको नेपालटार–मङ्गलवारे सडकको निर्माणमा जनप्रतिनिधिकै मिलेमतोमा गुणस्तरीय नभएको भन्दै स्थानीय बासीले काममा अवरोध गरेका थिए । निर्माण कम्पनीले ग्राभेल गर्ने सामाग्रीमा माटो प्रयोग गरेको भन्दै यस अघि डोजरमा सुतेर स्थानीयले विरोध जनाए । तत्काल स्थानीयको छलफलपछि गुणस्तर वृद्धि गर्ने सहमति बनेको थियो ।
सधैँ निर्माण कमजोर भएको आरोप खेप्ने गरेको यो सडक २०७२ सालमा कालोपत्रे भएको थियो । कहिले धान रोपेर त कहिले स्थानीयले काममा अवरोध गरेर विरोध गर्ने गरेका छन् । वर्षा याम सुरु हुनासाथ झारो टार्ने गरी बजेट आउनु र त्यसमा पनि निर्माण कमसल भएको स्थानीय तारा कुमार राई बताउँछन् ।
कालोपत्रे ठाउँ ठाउँमा भत्किएर उक्त स्थानमा हिलाम्मे बनेको सडक मर्मतमा यो पटक अन्तिममा कोसी प्रदेश सरकारले दश लाख छुट्टाएर मर्मत थालेको थियो । अनुगमनको अभावमा ठेकेदारले लापरबाही पूर्ण तवरले काम गरेको अर्का स्थानीय विमल खम्बु बताउँछन् ।
डिभिजन सडक कार्यालय मार्फत १२ करोडमा कालोपत्रे भएको सडक पूर्ण रूपमा सम्पन्न नभई सञ्चालनमा आएको थियो । झुत्रे खोला वारी पारी खण्ड कालोपत्रे हुन पाएन । यता मर्मत अवधिमा निर्माण कम्पनीले मर्मत नगरीकन छाडेपछि सडक जीर्ण हुँदै गएको थियो । सडक बोर्डमा सूचीकृत नभएकाले सडक मर्मतका लागि बजेट छुटाउन नेताहरूमाझ आरोप प्रत्यारोप चलेको थियो ।
गत वर्ष मर्मतका लागि डिभिजन मार्फत नै ९७ लाख ११ हजार रुपैयाँमा ठेक्का लागेको थियो । ठेकेदार कम्पनीले समयमा काम नगरेपछि पुन टालटुल गर्ने ठेक्कालाई नाली मर्मतमा खर्च गरिएको थियो । त्यस पटक समेत यो सडकको खाल्टा खुल्टी र हिलो पन्छाउने र पुर्ने काम गरिएन । देउमाई र इलाम नगरपालिकाले केही लगानी गरेर सडक सञ्चालन गराउँदै आएका थिए ।
सडक डिभिजन कार्यालय इलामले नेपालटार मङ्गलवारे सडक कालोपत्रे मर्मतका लागि थप १५ करोड रुपैयाँ लाग्ने जनाएको छ । सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराई आगामी वर्षमा डेढ करोड बजेट टुट्टीएको जानकारी दिए । यता पूर्वाधार विकास कार्यालय झापाका इन्जिनियर सुजन दहालले यो पटक दश लाखमा काम भए पनि आगामी वर्ष दुई करोड लगानी गरिने बताए । उनले सडकमा रोलर लगाउँदा केही हिलो देखिए पनि सुकेपछि राम्रो हुने जानकारी दिए । दश लाख सम्मको काम कनट्र्याक्ट मार्फत सोझै भइरहेको उनले दाबी गरे ।
पश्चिमी इलामको देउमाई नगरलाई जोड्ने मुख्य मार्ग नेपालटार मङ्गलवारे सडक जीर्ण हुँदा पश्चिमी इलामका फाकफोकथुम,र माङ्गसेबुङ्क हुँदै रवि जान यातायात असहज हुने गरेको छ ।
प्रतिक्रिया