इलाम : इलामको ठुलो टुँडिखेलमा फागुन १७ देखि २४ गतेसम्म आयोजना गरिएको दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकप फुटबल प्रतियोगिताको आय(व्यय सार्वजनिक गरिएको छ। आयोजक क्लब ओएसिस इलामले सार्वजनिक गरेको विवरणअनुसार प्रतियोगिताबाट हालसम्म तीन लाख ३४ हजार दुई सय पैँसट्ठी रुपैयाँ बचत भएको छ।
कुल ८८ लाख १५ हजार आठ सय पैँसट्ठी रुपैयाँ बराबरको सहयोग कबोल भए पनि हालसम्म ५८ लाख ४० हजार तीन सय पैँसट्ठी रुपैयाँ मात्र संकलन भएको छ। बाँकी २९ लाख ७५ हजार पाँच सय रुपैयाँ दाता, प्रायोजक तथा स्थानीय तहबाट उठ्न बाँकी रहेको जनाइएको छ।
क्लब ओएसिस इलामका अध्यक्ष ध्रुव राई र संरक्षक च्याङ मुखियाको हस्ताक्षरयुक्त सार्वजनिक विवरण अनुसार प्रतियोगिता सफलतापूर्वक सम्पन्न भए पनि अझै ठूलो परिमाणमा रकम संकलन गर्नु बाँकी रहेको छ। आयोजकले बाँकी सहयोग रकम समयमै प्राप्त हुने विश्वास व्यक्त गरेका छन्।
देश तथा विदेशका चर्चित खेलाडीको उपस्थिति रहेको यो प्रतियोगिताले इलामलाई महिला फुटबलको हबको रूपमा स्थापित गर्ने प्रयासलाई थप ऊर्जा दिएको आयोजकको भनाइ छ।
प्रतिक्रिया