विराटनगर । भारतको जोगवनीबाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन) लिएर आउँदै गरेका ३ जना सोमबार अपरान्ह पक्राउ परेका छन् । पक्राउ परेकामध्ये १ जना भारतीय र २ जना नेपाली नागरिक हुन् ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले भारत बिहारको अररिया थाना फारबिसगन्ज–७ का २८ वर्षीय अर्जुन मल्लिक, विराटनगर महानगरपालिका–१७ का १९ वर्षीय साइनम गुरुङ र मोरङको लेटाङ नगरपालिका–३ का ४० वर्षीय नवीन तामाङलाई पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार भारतको जोगवनीबाट नेपाल छिरेका उनीहरलाई शंका लागेर चेकजाँच गर्दा साथबाट ब्राउन सुगरजस्तो देखिने वस्तु ४०।१४ ग्राम बरामद भएको थियो ।
इलाका प्रहरी कार्यालय रानी, इलाका प्रहरी कार्यालय रानी (सीमा) र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको संयुक्त टोलीले तीनै जनालाई सोमबार अपरान्ह ४ः३० बजेतिर विराटनगर–१५ स्थित चाइना मार्केटबाट पक्राउ गरेको हो ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखेर इन्स्पेक्टर प्रकाश थापा नेतृत्वको टोलीले थप अनुसन्धान अघि बढाएको छ । उनीहरुविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मद्दा चलाउने प्रहरीको तयारी छ ।
प्रतिक्रिया