विराटनगर : नेकपा (एमाले) मोरङको १० औं जिल्ला अधिवेशन अन्तर्गत बुधबार निर्वाचन हुँदैछ ।
निर्वाचनमा एक सय ६० जना कार्यसमिति चयन हुनेछ । जसमा पाँचजना पदाधिकारी हुनेछन् भने बाँकी सदस्य हुनेछन् ।
जसमध्ये प्रवेश विष्ट सबैभन्दा कान्छो उमेरका उम्मेदवार हुन् । सबैभन्दा कान्छो प्रतिनिधि विष्टले युवा खुल्ला सदस्यमा उम्मेदवारी दिएका छन् ।
अधिवेशनका लागि तीन सय २५ जनाले उम्मेदवारी दिएका थिए । तीमध्ये ७१ जना सर्वसम्मत निर्वाचित भइसकेका छन् । ६३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
निर्वाचनका लागि एक सय ९१ जनाको उम्मेदवारी कायम भएको छ । तीमध्ये विष्ट सबैभन्दा कान्छो उम्मेदवार हुन् । उनी २२ वर्षका मात्रै भए ।
उनले पछिल्लो समय राजनीतिमा युवाहरूको वितृष्णा बढिरहँदा आफ्नो उम्मेदवारीले सकारात्मक सन्देश प्रवाह गरेको बताए । आजको राजनीतिमा युवा पुस्ताको हस्तक्षेपकारी भूमिका अत्यावश्यक रहेको उनको बुझाइ छ ।
एमालेनिकट अनेरास्ववियुको प्रारम्भिक कमिटीको अध्यक्ष भएर राजनीतिमा प्रवेश गरेका विष्ट हाल अनेरास्ववियुको जिल्ला सदस्य हुन् ।
रतुवामाईको वडा नम्बर ९ बाट सर्वसम्मत प्रतिनिधि चयन भएका विष्ट अब एमाले मोरङको कान्छो सदस्य बन्न लागि परेका छन् ।
विष्ट पत्रकारितामा आवद्ध थिए । तर, उनले पछिल्लो समय पत्रकारिताको यात्रा बिसाएर सक्रिय राजनीतिमा होमिएका छन् ।
उनले आफूलाई जिताएर पार्टीमा युवाको आवश्यकता छ भन्ने सन्देश दिन प्रतिनिधिहरूलाई अनुरोध गरे । ‘कान्छो उम्मेदवारलाई मतदान गरौं, पार्टीमा युवाको उपस्थिति बढाऔं’ भन्ने सन्देशसाथ चुनावी मैदानमा होमिएको उनले बताए ।
प्रतिक्रिया