विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले योजना बैंकबाट प्रदेश सरकारलाई बजेट निर्माणका लागि थिति र विधि बसाल्न मद्दत गर्ने बताएका छन् । कोशी प्रदेश योजना आयोगद्वारा आज आयोजित ‘कोशी प्रदेशस्तरीय आयोजना तर्जुमासम्बन्धी अन्तरक्रिया’ मा उहाँले योजना बैंकको अवधारणले योजना व्यवस्थित हुने भन्दै यसबाट बजेटमा पर्ने योजनाको असन्तुलनलाई घटाउने विश्वास व्यक्त गरे ।
मुख्यमन्त्री कार्कीले ५० लाखभन्दा कमको योजना बैंकमा समावेश नगर्न कोशी प्रदेशसभाका सदस्यलाई आग्रह गर्दै प्रदेश सरकार र स्वीस सरकारको संयुक्त लगानीमा प्रदेशमा चार वटा पदमार्ग निर्माण हुने जानकारी दिए सङ्घीय सरकारबाट प्रदेश सरकारलाई प्राप्त हुने अनुदान कटौती हुँदै जानु चिन्ताको विषय भएको भन्दै सरकार आन्तरिक आय बढाउन आयआर्जन हुनसक्ने क्षेत्रमा लगानी गर्न तयार रहेको उनले बताएका छन् ।
मुख्यमन्त्री कार्कीले यस वर्ष अलैँचीको मूल्य वृद्धिले पहाड छाडेर अन्यत्र बसेका मानिस पुनः पहाडतर्फ फर्कनु खुसीको विषय भएको उल्लेख गर्दै प्रदेश सरकारको पुल र बाटो बाहेक अन्य बहुवर्षीय योजना नहुने उल्लेख गरेका छन् । कृषि आँैजार र आर्गानिक मल उत्पादन गर्न चाहनेलाई सरकारले सहयोग गर्ने भन्दै कोशी प्रदेशसभाका सदस्यले छान्ने योजनामा ४० प्रतिशत उत्पादन र उत्पादकत्व बढाउने र ६० प्रतिशत पूर्वाधारका हुनुपर्नेमा मुख्यमन्त्री कार्कीको जोड छ ।
कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले पर्यटकको नाममा जथाभावी खर्च गर्ने बानी हटाउनुपर्ने भन्दै चोर बाटोबाट योजना समावेश नहोस् भनेर योजना बैंकको व्यवस्था गरेको जानकारी दिए । कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले आयआर्जन गर्न सकिने क्षेत्रमा लगानी गर्न प्रदेश सरकारलाई आग्रह गरेका छन् ।
प्रतिक्रिया